Breaking

हिम पहिरोमा बेपत्ता एकको शव ८ दिनपछि भेटियो


काठमाडौँ – दार्चुलाको हिम पहिरोमा बेपत्ता भएका एकको शव ८ दिन पछि भेटिएको छ ।

बुधवार डोटीको जोरायल गाउँपालिका-२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै बेपत्ता पाँचै जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् ।

दार्चुलाको ब्याँस गाउँपालिका-१ भोलुममा वैशाख १९ गते गएको हिम पहिरोमा परेर ५ जना बेपत्ता भएका थिए । ७ जनाले भागेर ज्यान जोगाएका थिए ।

उनीहरूलाई सोही दिन प्रहरीले सकुशल उद्धार गरेको थियो । यार्सागुम्बा संकलनका लागि भोलुममा पुगेकाहरूमध्ये ५ जना हिम पहिरोमा बेपत्ता भएका थिए ।
दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल नम्बर-५० गुल्मबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले बेपत्ताहरूको खोजी गरिरहेकोमा बुधवार छिमीको शव फेला पारेको हो। यसअघि अन्य ४ जनाको शव प्रहरीले फेला पारिसकेको छ ।