विदेश

पूर्वप्रधानमन्त्री खान पक्राउ परेसँगै पाकिस्तानका भड्कियो हिंसा, प्रहरीले चलायो गोली


काठमाडौँ — पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेसँगै त्यहाँ देशब्यापी बिरोध प्रदर्शन भइरहेको छ । प्रहरी र खान समर्थकबीच पाकिस्तानका विभिन्न शहरमा झडप समेत भएको छ । क्वेटा शहरमा प्रहरीको गोली लागेर १ जनाले ज्यान गुमाएका छन् भने ६ जना घाइते भएका छन् । पूर्व प्रधानमन्त्री इमरान खान भ्रष्टाचार आरोपमा पक्राउ परेसँगै पाकिस्तानका विभिन्न ठाउँहरुमा उनका समर्थकले गरेको प्रदर्शन भड्किएको छ । प्रहरी र उनका समर्थकबीच पाकिस्तानका विभिन्न शहरमा झडप भइरहेको छ । पाकिस्तानी राजनीतिको महत्वपूर्ण व्यक्तित्वका रूपमा उदाएका इमरान खान इस्लामावादस्थित अदालत परिसरबाट अर्धसैनिक बलका अधिकारीहरूमार्फत गिरफ्तारमा परेपछि त्यहाँको प्रदर्शन भड्किएको हो ।

पाकिस्तानका पुर्वप्रधानमन्त्री खानमाथि पदमा रहँदा राज्यका उपहार लगायत बेचेको आरोप छ । गत वर्ष जुनमा पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) सत्तामा आएपछि पूर्व प्रधानमन्त्री खान र उनकी पत्नी बुशरा बीबीले एक घर जग्गा व्यवसायीको ५० अर्ब रुपैयाँलाई कानुनी मान्यता दिएको बदलामा अर्बौँ रुपैयाँ बराबरको जग्गा अधिग्रहण गरेको बताइन्छ । यस सम्बन्धमा आन्तरिक मामिला मन्त्री राना सनाउल्लाहले पत्रकार सम्मेलनमा पीटीआई सरकारमा छँदा ब्रिटिश नेश्नल क्राइम एजेन्सीले त्यो पैसा व्यवसायी मलिक रियाजमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान पछि फिर्ता गरेको र लगत्तै खानले उनीबाट अधिग्रहण गरेको जग्गा फर्काएको आरोप लगाएका थिए ।

खानले अल कादिर विश्वविद्यालय परियोजनाका लागि सन् २०१९ को डिसेम्बर २६ मा अल कादिर ट्रस्ट दर्ता गरेका थिए । मन्त्रिपरिषद्ले रियाजको स्वामित्व रहेको बहरिया टाउनको बारेमा निर्णय गरेको केही दिनपछि इमरान खानले उक्त ट्रस्ट दर्ता गरेका थिए । उनी यहि अल कादिर ट्रस्टबारे परेको मुद्दामा पक्राउ परेसँगै उनका समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् ।

इमरान खान पक्राउ परेपछि पाकिस्तानमा उनका समर्थकहरूको हिंसात्मक प्रदर्शन बढ्दै गएको छ । पाकिस्तान सरकारले इस्लामावादस्थित पुलिस लाइनको मुख्यालयलाई सब–जेल बनाएको छ । इमरान खानलाई रातारात त्यहाँ सारेको छ । प्रदर्शनकारीहरु मंगलबार रातिदेखि रावलपिण्डीस्थित पाकिस्तानी सेनाको मूख्यालय घेरा हालेर बसेका छन् । लाहोरमा प्रदर्शनकारीको भीड एक जना सैन्य कमाण्डरको घरभित्र प्रवेश गरी तोडफोड समेत गरेको छ ।

हिंसात्मक प्रदर्शन भड्किएपछि पाकिस्तान सरकारले मोबाइल र इन्टरनेट सेवासमेत बन्द गरेको छ । प्रदर्शन नियन्त्रणका लागि पाकिस्तानको पञ्जाब प्रान्तमा स्थिति नियन्त्रण गर्न राज्य सरकारले सेना बोलाउने निर्णय गरेको छ । पाकिस्तानको संविधानको धारा २४५ अन्तर्गत पञ्जाब राज्य सरकारले सेनाको सहयोग लिने निर्णय गरेको छ । यस धारामा जिल्ला प्रशासनलाई सहयोग गर्न सेनाको सहयोग लिने व्यवस्था गरिएको छ । पञ्जाब प्रान्तको गृह विभागले सेनाका दश कम्पनी तैनाथ गर्न माग गरेको छ । उनीहरूलाई लाहोर, मुल्तान, रावलपिंडी, फैसलावाद र अन्य केही जिल्लाहरूमा तैनाथ गरिने छ ।

खानलाई बुधबार अदालमा पेश गर्ने सम्भावना छ । त्यस क्रममा प्रदर्शन झन् उग्र हुनसक्ने अनुमान छ । पाकिस्तानभर बुधबार एक दिनका लागि विद्यालयहरु समेत बन्द गरिएको छ । इमरान खान आफूमाथि लागेको भ्रष्टाचारको मुद्दामा इस्लामावाद उच्च अदालतमा हाजिर हुने क्रममा उनलाई अर्ध सैनिक बल रेञ्जर्स फोर्सले पक्राउ गरेको हो । खानको गिरफ्तारीको संयुक्त राष्ट्रसंघ, अमेरिका र बेलायतलेसमेत बिरोध गर्दै पाकिस्तान सरकारलाई कानुनको पालना गर्न सुझाव दिएको छ ।