Breaking

ओली र देउवा नै भ्रष्टाचारीको संरक्षक, हाईप्रोफाइललाई ठेगान लगाउने सुरमा प्रचण्ड,आरजु–मञ्जु पनि निशानामा


काठमाडौँ — साना माछा मात्रै परेको नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला माछा पनि समातिन थालेका छन् । सत्ता पक्षकै प्रभावशाली नेता प्रहरी हिरासतमा पुग्न थालेपछि प्रतिपक्षमा रहेको एमालेको पसिना छुटेको छ भने, पार्टी नेतृत्वमा थप दवाव सिर्जना भएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई उनैको निजी निवासबाट प्रहरीले हिरासतमा लिएको भन्दै बुधबार बिहान एकाएक नेपाली सञ्चार माध्यममा सनसनीपूर्ण समाचार फैलियो । नक्कली भुटानी शरणर्थी प्रकरणमा मुछिएका पूर्वगृहसचिवदेखि सुरक्षा सल्लाहाकार हुँदै प्रभावशाली नेताको छोरालाई पक्राउ गरेको नेपाल प्रहरीले ठूलो माछालाई हात पार्दा थप अन्यको पसिना छुटेको छ ।

नक्कली शरणार्थी प्रकरणमा हाईप्रोफाइलकै नेताहरु प्रहरीको निशानामा पर्न थालेपछि ठुला पार्टीलाई सकस भएको छ । भुटानी शरणार्थी प्रकरणमा सदनको पहिलो र दोस्रो ठुलो दलकै नेताहरु एकपछि अर्काे गर्दै मुछिन थालेपछि पार्टीलाई धक्का लागेको छ । सत्ता साझेदारी दलका नेता तथा पूर्व गृहमन्त्रीलाई हिरासतमा लिदाँ कांग्रेस सांसद अराजू राणा देउवा र मञ्जु खाण प्रहरीको निशानामा छन् । अनुसन्धानको दायरामा रहेका उनीहरुमाथि प्रहरी प्रमाण जुटाउनमा लागिपरेका छन् । जसले गर्दा अहिले पार्टीपंक्ति लाजमर्दाे अवस्था आइपुगेको छ । पूर्व गृहमन्त्री खाँण पक्राउ परेपछि पार्टी सभापति शेरबहादुर देउवाले आफू निकटका केही नेतासँग छलफल गर्दै गर्दा पार्टी महामन्त्री गगन थापाले नेता वा नाता जो भए पनि छोड्न नहुने अभिव्यक्ति दिएका छन् ।

सरकारले सत्ता गठबन्धनका नेतालाई जोगाउन प्रतिपक्षी सांसदमाथि मात्रै प्रहार केन्द्रित गरेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोपलाई आजको घटनाक्रमले मत्थर पारेको छ । सत्ता पक्षकै नेता प्रहरी हिरासतमा रहँदा एमालेको सात्तो गएको छ । यसै प्रकरणमा नाम मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी हाल प्रहरीको फरार सूचीमा छन् । हिजोसम्म रायमाझीलाई बचाउन सरकारको ढोका–ढोका चाहारेको ओलीले पार्टीभित्रको दवाव र खाँणको पक्राउपछि थप दवावको महसुस गर्दै रायमाझीलाई निलम्बन गरेका छन् । एमालेले सरकारको अनुसन्धानमा सहयोग गर्न रायमाझीलाई आग्रहसमेत गरेको छ ।

गृहमन्त्री, सचिव अथवा गृहमन्त्रालयसँग सम्बन्धित व्यक्तिहरुबाट आम जनताले सामान्यतः देशमा हुने तस्करीबाट राष्ट्रलाई संरक्षण गर्ने विश्वास विश्वास राख्छन् । शान्ति सुरक्षाको प्रत्याभुत गराउने थलो ठान्छन् । तर नेपाली राजनीतिमा अपराधिकरण र अपराधलाई राजनीतिकरण गर्दा धेरैले न्यायको महसुस गर्न सकिरहेका छैनन् । दलका शीर्ष नेता, मन्त्री, सचिवहरु नै मानवतस्करमा सामेल भएको घटना बाहिर आउन थालेसँगै आम नागरिकले सरकारप्रति हेर्ने दृष्टिकोण नै फरक बन्दै गएको छ ।

त्यसो त, वैशाख २४ गते देखि सुरु भएको बजेट अधिवेशनको प्राथमिकतामा आगामी वर्षको बजेट हुनु पर्ने हो । संविधानले नै व्यवस्था गरेको नीति तथा कार्यक्रमको मिति नजिकिँदै गर्दा सदनभित्र सबै सांसद् प्रि–बजेट छलफलमा व्यस्त देखिनु पर्ने हो । तर, सांसद्को ध्यान बजेटको विषयमा भन्दा भुटानी शरणार्थी भ्रष्टाचारमा मुछिएका नेतामा नै बढी केन्द्रीत छ । काले काले मिलेर खाँदै आएको भालेमा अहिले दरार पैदा हुँदै गएको छ । एकले अर्कालाई दोषारोपण गर्दै शीर्ष नेतृत्वको बचाउमा लागेको कांग्रेस एमाले दुवै बदनाम भएका छन् । कांग्रेस एमालेका सांसद्लाई सदनमा आफ्ना नेताको रक्षा गर्न गाह्रो त भएको छ नै । आफ्ना नेता भ्रष्टाचारको आहलमा डुबेपछि कार्यकर्ताको सामना गर्न पनि सकस पर्ने देखिन्छ ।