Breaking

मगर भाषा पढाउँदै निसीखोला गाउँपालिका


काठमाडौँ – आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको बागलुङको निसीखोला गाउँपालिकाले मगर भाषामा पाठ्यपुस्तक तयार गरेको छ । गाउँपालिकाले मगर भाषामा पाठ्ययुस्तक तयार गरी यही शैक्षिकसत्रबाट लागु गर्ने तयारी गरेको हो ।

स्थानीय पाठ्यक्रम निर्माण निर्देशिकाअन्तर्गत रहेर निसीखोला गाउँपालिकाले कक्षा १ मा मगर भाषा समेटिएको पाठ्यपुस्तक पढाउने तयारी थालेको हो । जनजातिहरूको बाहुल्यता रहेको निसीखोला गाउँपालिकामा मगर (खाम) भाषा समेटिएको पाठ्यपुस्तक छपाइको तयारीमा रहेको जनाएको छ ।

आदिमकालदेखि बोलीचालीमा प्रयोग गर्दै आएको भाषा, संस्कृतिको जगेर्ना गर्नका लागि गाउँपालिकाले विद्यार्थीलाई मगर भाषा सिकाउन थालिएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले जानकारी दिए । पुस्तान्तरणको अभाव तथा पश्चिमा भाषा संस्कृतिको प्रभावका कारण मगर भाषा लोप हुने खतरा देखिएकाले मगर भाषा संरक्षणका लागि पाठ्यपुस्तक निर्माण गरेर अध्यापन गराउने गरी अहिले पाठ्यपुस्तक छपाईको तयारीमा रहेको अध्यक्ष घर्तीले जानकारी दिए ।

परम्परागत खाम भाषा बोल्ने भाषिक समुदायको अभाव हुँदा यो भाषा लोप हुँदै गएका कारण भाषा संरक्षण थालिएको हो । यो भाषा बोल्ने पुराना व्यक्तिको मृत्यु हुनु र नयाँ पुस्तामा खाम भाषा स्थानान्तरण नहुँदा लोप हुँदै गएका कारण गाउँपालिकाले पाठ्युस्तक बनाएर संरक्षण थालेको हो । बच्चाले नै पहिलो भाषाका रूपमा नेपाली भाषामा बोलचाल गर्न थालेसँगै खाम पूरै लोप हुने अवस्था रहेकाले भाषा जोगाउन पाठ्यपुस्तक नै बनाएर अध्ययन गराउन थालिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले खाम अध्यापनका लागि शिक्षक नियुक्तिका लागि समेत आवश्यक समन्वय गरिसकेको छ ।