Breaking

काठमाडौँ महानगरभित्रका तार व्यवस्थापन आजदेखि


काठमाडौँ – काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका अव्यवस्थित तार व्यवस्थापन आजदेखि गरिने भएको छ ।

काठमाडौँ महानगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार भएको बैठकको निर्णयअनुसार काठमाडौँ महानगरभित्रका तार व्यवस्थित गर्न लागिएको हो ।

यसअघि काठमाडौँ महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ भित्र तार व्यवस्थापन नगरे काटिदिने चेतावनी दिएको थियो ।

दूरसञ्चार प्राधिकरणले ‘जरुरी सूचना’ जारी गरी टेलिफोन तथा इन्टरनेटलगायतका तार सडक छेउका पोलमा गुजुल्टो भएको, चुँडिएको तथा लत्रिएकाले सहरी सुन्दरता बिग्रिनुका साथै दुर्घटनासमेत हुने गरेकाले त्यस्ता तार हटाउन लागिएको जानकारी दिएको छ ।

हेर्नुहोस् सूचना

माथि उउल्लिखित रूटमा क्रमशः तार व्यवस्थित गरिने जानकारी दिँदै दूरसञ्चार प्राधिकरणले सबै सेवाप्रदायकलाई दैनिक रूपमा हुने तार व्यवस्थापन कार्यमा अनिवार्य सहभागिताका लागि आग्रह पनि गरेको छ । 

‘सेवा प्रदायकहरूको तारमा संस्थाको नाम वा अनुमतिपत्र नम्बर खुल्नेगरी तारमा ट्याग हुनुपर्ने बेहोरासमेत जानकारी गराइन्छ’, प्राधिकरणले भनेको छ, ‘तार व्यवस्थापन कार्यमा सेवाप्रदायक उपस्थित नभएमा वा सम्बन्धित सेवाप्रदायकको तार चिनिने ट्याग नभएको कारण तार काटिएमा वा हटाइएमा सोको जिम्मेवार स्वयम् सेवाप्रदायक नै हुने बेहोरा जानकारी गराइन्छ ।’