Breaking

प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्दै


काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको सल्लाहअनुसार संवैधानिक परिषद्को बैठक आज साँझ बस्ने भएको हो ।

संसद्‌मा महाभियोग प्रस्ताव दर्ता भएपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा परेका छन् । त्यसयता सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कायममुकायम प्रधानन्यायाधीश छन् ।

१४ महिनादेखि सर्वोच्च अदालत नेतृत्वविहीन रहेको भन्दै प्रधानन्यायाधीश नियुक्तिका लागि नेपाल बार एसोसिएसनलगायत सरोकारवालाहरूले दबाब दिइरहेका छन् ।

यसअघि यही वैशाख ६ गते बसेको संवैधानिक परिषद्को बैठकले यस सम्बन्धमा अर्को बैठकबाट निर्णय गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‌मा प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन् ।