देश

संसदीय सुनुवाइ समितिमा रहने सांसदको नाम ३ दिन भित्र बुझाउन सभामुखको निर्देशन


काठमाडौँ– सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समितिमा रहने सांसदको नाम तीन दिन भित्र बुझाउन निर्देशन दिनुभएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठकमा सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका सचेतक र शीर्ष नेताहरूलाई तीनदिनभित्र समितिहरूमा रहने सदस्यहरूको नाम बुझाउन निर्देशन दिनुभएको हो । संघीय संसद्का दुई समिति संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा सदस्यहरूपूर्ण नहुँदा प्रधानन्यायाधीश र न्यायाधीश नियुक्ति लगायत काममा असर पर्ने भएकाले तत्काल समिति गठन गर्न सभामुखले नाम बुझाउन आग्रह गर्नु भएको हो । राष्ट्रिय सभाबाट संसदीय सुनुवाइमा बस्नेको नाम पठाइ सकिएको छ भने प्रतिनिधिसभामा बस्नेको नामबाँकी नै रहेको छ । यसैबीच,प्रतिनिधिसभाका सांसदहरूको अब विद्युतीय हाजिरी हुने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिले यो अधिवेशनबाटै इलेक्ट्रोनिक हाजिरीको व्यवस्थागर्ने निर्णय भएको जानकारी दिएको छ । यसअघि सांसदहरूको हाजिरी रजिस्टरमा हुँदै आएको थियो ।