Breaking

‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदै


काठमाडौँ – आज विभिन्न कार्यक्रम गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदै छ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो ।

सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो ।

‘पत्रकारितामा खोज र नवीनतास् लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाउन थालिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

पत्रकारिता दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिनेछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा आइतबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा विशेष समारोह आयोजना गरिने भएको छ । सो समारोहमा नेपालको पत्रकारिताका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने दुई जनालाई वरिष्ठ पत्रकार सम्मान र छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ ।

पत्रकारिता दिवसका अवसरमा सरकारले निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताका माध्यमबाट राष्ट्रिय हितको प्रवर्द्धन र जनतालाई सुसूचित गराउन योगदान पुर्‍याएका पत्रकार र आमसञ्चारसम्बन्धी संस्थालाई सम्मान गरिने भएको हो ।

समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्बोधन गर्नेछन् ।

गोरखापत्र संस्थानले ‘गोरखापत्र’ प्रकाशनको १२३औँ वर्ष प्रवेश तथा संस्थानको ६१औँ वार्षिकोत्सवका उपलक्ष्यमा प्रधानमन्त्रीको उपस्थितिमा कार्यक्रमको आयोजना गरेको छ ।