Breaking

यार्सा टिप्न मुगु गएका जुम्लाका ३ जना हिमपहिरोमा बेपत्ता


काठमाडौँ – हिमपहिरोमा परी जुम्लाका तीन व्यक्ति बेपत्ता भएका छन् । जुम्लाको पातारासी गाउँपालिका वडा नं- २ तल्फी गाउँका तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरा बेपत्तामा भएको पातारासी गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले जानकारी दिए ।

पन्ध्र जनाको टोली बनाई मुगुको पाटनमा यार्सा टिप्न गएकामध्ये उनीहरू मुगु कार्मारोङ्ग गाउँपालिका-२ च्यार्खु लेकमा शनिबार बेपत्ता भएको अध्यक्ष बोहोराले बताए ।

‘दिउँसो खबर आएसँगै इलाका प्रहरीचौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गइसकेकाले के कसरी घटना भयो ? हिउँपहिराका कारण हो कि अन्य कारण हो ? बेपत्ताको अवस्था के छ ? प्रहरी पुगेमात्र आधिकारिक जानकारी आउनेछ’, जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले भने ।

मुगुका पाटनमा यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिकाले जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने सूचना गरे पनि यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन् । बेपत्ता भएका तीन जनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थिए ।