Breaking

सत्ता छोडेर संगठन विस्तारमा रास्वपा, आफ्नै नेतृत्वमा देश हाक्ने दावी, रास्वपाको यात्रा कता?


काठमाडौँ — सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अब संगठन विस्तारमा केन्द्रीत हुने भएको छ । २०८४ को निर्वाचनलाई केन्द्रमा राखेर पार्टी विस्तारमा केन्द्रीत हुने तरखरमा रहेको रास्वपा अब आफ्नै नेतृत्वमा सरकार संचालन गर्ने तयारीमा जुटेको हो । आम निर्वाचनबाट सदनको चौथो ठूलो दल बन्दै ४२ दिन सरकारकमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले अन्ततः सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

उपनिर्वाचनपछि २१ सीटसहित सदन प्रवेश गरेको रास्वपा सरकारमा जाने नजाने लामो बहसका बीच शुक्रबार सरकारलाई दिइरहेको समर्थन फिर्ता लिएको हो । उपनिर्वाचनमा जनताबाट प्राप्त म्याण्डेटले प्रतिपक्षमा बस्न लागेको रास्वपाको यात्रा अब संगठन विस्तारमा केन्द्रीत हुनेछ । मिशन–२०८४ को लक्ष्य लिएर जनमत निर्माणमा होमिएको रास्वपाले अहिले भौतिक र भर्चुअल दुवै माध्यमबाट सदस्यता बढाउने काम गगिररहेको छ । रविको सञ्चारकर्ममा हुँदाको छविबाट रास्वपा प्रवेशमा युवाको आकर्षण पनि बढ्दो छ ।

सत्ताका लागि च्याखे दाउ र अस्थिर अंक गणितमा नयाँ अर्काे गठबन्धन किस्साको सम्भावना रहिरहे पनि अब आफ्नै नेतृत्वमा सरकारमा जाने योजना रास्वपाको छ । छोटो समयमा नै सरकारको र राजनीतिक चलखेलको अनुभव बुटलिसकेको पार्टीको अबको सत्ता यात्रा प्रधानमन्त्रीमा हुने रास्वपाका नेताहरुको भनाइ छ ।

संधै शक्तिमा नै बसिरहने र कुर्सीकै चलखेलमा राजनीति गर्ने परिपार्टी नेपाली राजनीतिमा नौलो कुरा होइन । त्यसलाई त्यागेर जनमानसमा शक्ति सञ्चय गर्न भाग दौडाह गरिरहेको रास्वपा ढिलै भए पनि जनताको म्याण्डेट बुझेर प्रतिपक्षमा बसेको छ । झण्डै ११ प्रतिशत नेपालीले विश्वास गरेको रास्वपा पारदर्शी बन्नु पर्ने नभए यसको अवस्था पनि उही पुरानैको जस्तो हुने विज्ञको बुझाई छ ।

सरकारबाट समर्थन फिर्तापछि रास्वपाले पार्टी मजबुत पार्न तर्फ ध्यान दिएको छ । सत्ता प्रतिपक्ष दुवैको अनुभव सम्हालिसकेको पार्टीले २०८४ को निर्वाचनमा बहुमतका साथ सदन प्रवेश गर्दै सरकारको नेतृत्व गर्ने योजना बुनेको छ । यद्यपि, अस्थिर अंक गणित र सदनमा चौथो ठूलो दलको हैसियत बनाएका कारण पुनः नयाँ समीकरण बनाएर सरकारमा जाने सम्भावनालाई भने अहिले नै नकार्न सकिँदैन ।