Breaking

रविको आफै प्रधानमन्त्री बन्ने उद्घोष, प्रचण्डले यसरी टार्दैछन् संकट, यस्तो छ फेरबदलको अंकगणित


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वासको संकटतिर धकेलिएका छन् । सत्ता बचाउनका लागि पुनः विश्वासको मत लिनुपर्ने बहस भइरहेका बेला माओवादीभने यो विकल्पमा जानै चाहिरहेको छैन । गृहमन्त्री नारायणकाजीश्रेष्ठले फरार एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्ने विषय पेचिलो बन्दै गएका बेला यता सत्ता जोडघटाउको विषयसमेत मिलिरहेको छैन ।

शुक्रबारमात्रै रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड विश्वासको संकटतिर उन्मुख भएका छन् । पुनः विश्वासको मत लिएर खड्को टार्ने वा संविधानमा समाधान खोजेर सरकार बचाउने प्रचण्डका लागि दुई विकल्प छन् ।तर उनी दुवै विकल्पमा अलमल छन् ।

सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले रास्वपा जाँदैमा विश्वासको संकट नभएको भन्दै सरकार निरन्तर चल्ने बताएको छ । समर्थन दिएर पनि सरकारमा सहभागि नभएको दल बाहिरिँदा पुनः विश्वासको मत लिनुपर्ने अवस्था नहुने उसको बुझाइ छ । माओवादी केन्द्रको यो आत्मविश्वासलाई केही संविधानविद्को धारणाले पनि साथ दिइरहेको छ । तर संविधानको धारा १०० को उपधारा २ मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने’ भनिएको छ । ‘

सरकारमै सहभागि’ भन्ने कोड भएपछि प्रधानमन्त्रीलाई झन्झट नहुने यसको अर्थ हो ।तर प्रमुख प्रतिपक्ष एमाले सरकारलाई समर्थन गरेको तेस्रो ठूलो दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री नैतिक संकटमा परेकाले विश्वासको मत लिनुपर्ने बताइरहेको छ । जसले गठबन्धनभित्र खेल्न सकिने र सरकार ढाल्नेसम्मको योजना एमालेमा देखिन्छ । किनकि एमाले अध्यक्ष ओलीकै आग्रहमा रवि प्रतिपक्ष बनेको बुझाईसत्ताघटकको छ ।

रास्वपा प्रतिपक्षमा बसेपछि एमाले कित्ताको विपक्षी मोर्चा थप बलियो बनेको छ । जनमत र जसपासहितका दलहरुलाई फकाएर फरक गठबन्धन निर्माणसम्मको तयारी एमालेको देखिन्छ । किनकि जनमत र जसपा दुवैले सरकारबाट चाहेको पाएका छैनन् । रोजेको मन्त्रालय नपाएपछि जनमत सरकारबाट बाहिरिएको थियो । खोजेको मन्त्रालय नपाएपछि खानेपानी र वनमन्त्रालयमा जान उपेन्द्र यादव मानिरहेका छैनन् । तथापी दिनैपिच्छे सरकार परिवर्तनको हल्ला चलाएर कसैको हित नहुने भन्दै उपेन्द्रले यहि गठबन्धनमा रहने संकेत गरेका छन् ।

रविलाई ओलीले प्रधानमन्त्रीको प्रस्ताव गरेको भनेर सार्वजनिक भएको खबरले सत्ता गठबन्धन हच्किएको थियो ।प्रचण्डले सरकारमै ल्याउने पहल गरेपनि काँग्रेससहितका दलले साथ नदिएपछि रास्वपाले समर्थन फिर्ता लियो । अहिले सरकार बनाउन चाहिने समर्थन जुटाउने जिम्मा ओलीले रविलाई दिएको विषय पनि चर्चामा छ । तर सजिलै गणित पुग्ने अवस्था छैन । किनकि प्रधानमन्त्री प्रचण्डसँग अहिले १५८ सांसदको साथ छ ।

एमाले, रास्वपा, राप्रपा र नेमकिपासहितको विपक्षी बेञ्चमा११५ सांसद छन् । प्रधानमन्त्रीसँग बहुमतका लागि चाहिनेभन्दा २० सांसद बढी छन् । विपक्षीको सरकार बन्न अझै २३ सांसद पुग्दैन ।फलतः गठबन्धनभित्र ठूलै भूँइचालो नगएसम्म वा देउवा दाहिने रहेसम्म प्रचण्ड प्रधानमन्त्रीमा सुरक्षित छन् ।