Breaking

बालकोटभित्रै टोपबहादुर,प्रचण्डमाथि ओलीको धम्की,खाँण तानिँदा एमाले बचाउँदै देउवा,रविमाथि किन प्रश्न ?


काठमाडौँ — नक्कली शरणार्थी प्रकरणमा उच्च राजनीतिक नेतृत्व जोडिएपछि मुद्धा कमजोर हुने सम्भावना बढेको छ । फलतः दोषीमाथि कारबाही नहुने विषय चिन्तामा परेको छ । एउटा पटकपटक सांसद भएको र मन्त्री हुँदै उपप्रधानमन्त्रीसमेतभएको व्यक्ति भागेर जाने मान्छे हो र ?’ भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईदिनअघिमात्रै आफ्ना पार्टी सचिव टोपबहादुर रायमाझीको बचाउ गरेका थिए । तर त्यसलगत्तै टोपबहादुर टाप कसेर भागे । उनी कहाँछन्, अहिलेसम्म अत्तोपत्तो छैन । आफ्नै पार्टी अध्यक्षले भाग्दैनन् भनेका व्यक्ति भागेर सम्पर्कमा नभएपछि अहिले ओलीको बोलीमा शंका बढेको छ । कतै बालकोटभित्रै टोपबहादुर संरक्षित छन् कि भन्नेसम्मको शंका आमजनले गर्नुपरेको छ ।

आफ्नो बोलीमा चुकेपछि ओलीलाई जवाफ दिन पनि सोच्नु परेको छ । शनिबार प्रधानमन्त्रीसँग भेट गरेपछि पत्रकारसँग बोलेका ओलीलाई जवाफ दिनुअघि पाँच सेकेन्ड सोच्नु प¥यो । टोपबहादुर रायमाझी बुटवल आसपासमा पक्राउ परेको चर्चाकै बीच एमाले अध्यक्ष ओली बिहिबार सिधैं सिंहदरबार हानिएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग ‘वान टु वान’ वार्ता गरेपछि यताटोपबहादुर सम्पर्कमा नभएको खबर सर्वत्र छायो । कतै ओलीकै दबाबमा प्रधानमन्त्रीले भ्रष्टाचारीको संरक्षण गरेकि भन्ने शंका पनि छ ।शनिबार फेरि ओली–प्रचण्डबीच भेटवार्ता भएपछि अब टोपबहादुरको मामिला लुकामारी बन्ने पक्का भएको छ । तथापी प्रधानमन्त्री प्रचण्डले कसैको दबाबमा नपर्ने बताएका छन् ।

एउटा प्रधानमन्त्री जस्तो व्यक्तिलाई ओलीले कसैलाई बचाउ भन्ने नसक्ने दाबीसमेत गरेका छन् । एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले बरु यसलाई कास्टीङ भनेका छन् । ठूल्ठूला घेराबन्दी होलान्, ठूल्ठूला दबाब आउँलान् र ठूल्ठूला धम्की पनि आउँलान् । तर आफु नझुक्नेभन्दै उनले ओलीको दबाब आएको संकेत त गरे, तथापी भ्रष्टाचारीलाई नछोड्ने पनि बताए । भ्रष्टाचारीको एउटै फाइल खोल्दा राजनीतिक नेतृत्व हल्लिएको नक्कली शरणार्थी प्रकरणमा अझै नयाँ अनुहारको प्रवेश हुँदैछ ।

पक्राउ परेका सचिव टेकनाराण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको नामसमेत लिएपछि उनी पनि तानिएका छन् । शनिबार यसलाई तथ्यहिन भन्दै खाँणले खण्डन गर्न खोजेपनि उनकै सल्लाहमा आफुले काम गरेको पाण्डेले बयान दिएपछि तनाव सुरु भएको छ ।यसले काँग्रेसको समेत अब निद्रा हरामको समय सुरु भएको छ । देउवासमेत बचाउन लागिपर्ने हुन् कि भन्ने चिन्ता पैदा भएको छ । तर जोकोही जोडिएपनि कानुन बोलेको अवस्थामा राजनीतिक दल चुप बस्नुपर्ने मत काँग्रेसका नेताहरुको छ । र छोड्न नहुने दाबीसमेत गरिरहेका छन् । काँग्रेस नेता खाँण २०७८ असार २९ मा गृहमन्त्री बनेपछि गृहसचिवमा टेकनारायण पाण्डेलाई ल्याएका थिए । अहिले पक्राउ परेपछि उनले खाँणकै समन्वयमा काम गरेको बयान ओकलेका छन् ।

खाँण पटकपटक यसका योजनाकार केशव दुलाल र सानु भण्डारीसँग झापा गएको विषयसमेत उनैले बताएका छन् । आफु फस्ने जोखिम बढेपछि शुक्रबार खाँण पार्टी सभापति देउवालाई भेट्न गएका थिए । देउवाले प्रधानमन्त्री प्रचण्ड र आईजीपी बसन्त कुँवरलाई त्यहीबाट फोन गरेको काँग्रेसकै नेताहरु बताउँछन् । किनकि यो प्रकरणमा एमाले नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयसमेत देउवालाई मन परेको छैन ।यता खाँणलाई उम्काएर आफ्ना नेतामात्रै फसाइए चुप नबस्ने धम्की ओलीको छ । एमाले–काँग्रेस बचाउन ओली–देउवा एक हुने विश्लेषणसमेत भइरहेका छन् । यसले विगतमा गृहप्रशासनको नेतृत्व तहमा रहेका सबै मुछिनसक्ने संकेत मिलेको छ ।

किनकि रामबहादुर थापा बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी भएका बेला उनकै पालामा गृहसचिव रहेका प्रेमकुमार राईको नाम पनि पोलिएको छ । खाँणपछि गृहमन्त्री भएका सबै अनुसन्धानको दायरामा आउन सक्छन् । शुक्रबारमात्रै सरकारबाट समर्थन फिर्ता लिएका रविले आफ्नै पालामा अनुसन्धान अघि बढाएको बताउन भ्याएका छन् । तर सरकारले भ्रष्टाचारको फाइल खोल्ने बुँदा हटाएपछि रास्वपा पछि हटेको बताउने उनी भ्रष्टाचारमा भटाभट अनुसन्धान चलिरहेका बेला किन समर्थन फिर्ता लिएरबाहिरिए ? विपक्षहरु प्रश्न उठाइरहेका छन् ।

बरु रविले क्यान्टोनमेन्टदेखि ओम्नी र बालुवाटार जग्गा प्रकरणसम्मको फाइल खोल्न सक्नुहुन्छ ?भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चुनौती दिएका छन् । यद्यपी पक्राउ परेकाबाट पोल खोलिँदै गएपछि टोपबहादुरको पक्राउले सबै रहस्य खोल्ने बुझाई अनुसन्धानमा परेको छ । तर उनी सम्पर्कमा छैनन् । फरार भनिएका उनले प्रहरी र पत्रकारसँग टेलिफोन संवाद पनि गरिरहेका छन् । तर ट्याक गर्ने वा पक्राउ गर्ने पक्षमा प्रहरी लचक छ ।यसले उनी कहाँ छन्, एमाले अध्यक्षदेखि प्रधानमन्त्री प्रचण्ड र प्रहरीको नेतृत्वसम्म जानकार रहेको तर्फ शंका बढेको छ ।