Breaking

वर्षको एक पटक गौतम बुद्धको सम्झना, विश्वभर कति छन् बुद्ध धर्मावलम्बी ?


काठमाडौँ — आज वैशाख शुक्ल पूर्णिमा अर्थात्, २५६७ औँ बुद्धजयन्ती । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर शान्तिका अग्रदूत एवम् भगवान् गौतम बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति प्रकट गर्दै मनाइएको छ । वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती । गौतम वुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रुपमा पनि यो दिवसलाई मनाउने गरिन्छ । इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा गौतमबुद्धको जन्म भएको थियो । भौतिक विकास र शक्ति प्रद्धर्शनको होडबाजीले विश्व अहिले अशान्त बन्दै गएको छ ।

यो अशान्त परिस्थितिमाझ आज भन्दा २५ सय ६७ वर्ष पहिले लुम्बिनीमा जन्मेका विश्व शान्तिका अग्रदुत गौतम वुद्धका उपदेश र जन्मस्थल लुम्बिनीको महिमा भने दिनदिनै बढ्दै गएको छ । कसैको काटमार नगर्नु, झूटो नबोल्नु, चोरी नगर्नु, सधै सदाचारी रहनु र जाड रक्सी नखानु वुद्धका पञ्चशील उपदेश हुन् । बुद्ध जयन्तीको अबसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनुपर्ने बताएका छन ।

राजकीय खानदान छोडेर शान्तिको खोजीमा हिडेका सिद्धार्थ गौतमले प्राप्त गरेका ज्ञान व्यक्तिको आत्मशान्ति, परिवार शान्ति, देश शान्ति र विश्व शान्तिकै लागि अपरिहार्य छन् । यसैले होला विश्वका साढे दुई अरव वौद्ध धर्मावलम्बी मात्रै होइन अन्य धर्मावलम्बीले पनि वुद्धका उपदेशलाई दर्शन र व्यवहारीक कर्मका रुपमा मनन गर्न थालेका छन् । धर्म र नियमको पहिचान गर्दै मानिसलाई सांसारिक मोहबाट छुटाउन बुद्धका वचन अमूल्य हुने बौद्ध धर्मका आचार्यको भनाइ छ ।

बौद्ध धर्ममा पञ्चशीलको ज्यादै ठूलो महत्व छ । अर्थात् पञ्चशील बौद्धधर्ममा प्रवेश गर्ने मूलद्वार हो । बुद्ध मार्गमा हिँड्नका लागि प्राणीहिंसा नगर्ने, मद्यपान नगर्ने, चोरी नगर्ने वा कसैले नदिएको नलिने, झुठो नबोल्ने र पतिपत्नीबीच बाहेक अरूसँग संसर्ग नगर्ने प्रण आवश्यक मानिन्छ । शान्तिका अग्रदूत मानिएका बुद्ध वचन अनुशरण गर्नेहरू विश्वभर नै फैलिएका छन् । तर नेपालमा राज्यले शान्तिका नायक बुद्धजयन्तीको अवसरमा एक दिन सार्वजनिक विदा दिने बाहेक अन्य उल्लेखनीय काम गर्न भने सकिरहेको छैन ।

तिब्बतको आसपास लगायत नेपालको हिमाली क्षेत्रमा बसोबास गर्नेहरूले भगवान् बुद्धलाई अत्यन्तै श्रद्धा गर्छन् । नेपालमा पनि यो वर्ष चैत्य, स्तुप आदि बौद्धस्थलमा बाक्लो चहलपहल देखियो । यस दिन बुद्धका मन्दिर, गुम्वा, विहार, मठ, स्तुपा र चैत्यमा बुद्धको विशेष पूजा लगायत विविध कार्यक्रम हुने गर्छन् । नेपालमा वर्षको एक दिन वैशाख पूर्णिमाका दिन बुद्धको महिमा गाउने र उनका वचनको स्मरण गर्ने र अरु वेला बेवास्ता गर्ने प्रवृत्ति मौलाइरहेको छ । गौतम वुद्धको वचनहरूको पालना गरेर विश्वलाई शान्तिको सन्देश दिन सके मात्र बुद्ध जन्मभूमि नेपाल भनेर गर्व गर्नुले सार्थकता पाउनेछ । आगामी दिनमा यस बिषयमा सरकार र सरोकावाला निकायको ध्यान गएमा साच्चिकै बुद्धको सन्देश र बुद्ध भगवान नेपालमा जन्मेको हो भन्ने प्रचार संसारभर हुनेछ ।