काठमाडौँ – यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । यद्यपि यो सम्भावना स्थानपिच्छे फरक-फरक हुने छ ।
विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेलले पूर्व र मध्य नेपालका केही क्षेत्रबाहेक अन्य स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको जानकारी दिइन् । उनका अनुसार आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ ।
यसअघि गत दुई वर्ष लगातार औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण विभागले गरेको थियो । तर गत वर्ष औसतमै वर्षा भएको थियो । दशैंको बेलामा समेत वर्षा हुँदा जनजीवन प्रभावित भएको थियो ।
अघिल्ला तीन वर्ष लानिनाको प्रभाव थियो । तर यस वर्ष अलनिनोको प्रभाव हुने सम्भावना रहेकाले वर्षा कम हुने प्रक्षेपण गरिएको मौसमविदको भनाइ छ । समुद्रको तापक्रम औसतभन्दा बढी हुनुलाई अलनिनो भनिन्छ । यसैको असर वायुमण्डलमा पर्दा वर्षा कम गराउँछ ।
कहाँ कस्तो वर्षा
राष्ट्रिय मौसम फोरममा जल तथा मौसम विज्ञान विभागका मौसमविद सुदर्शन हुमागाईंले दिएको जानकारी अनुसार कोशी प्रदेशका पश्चिमी, बागमतीका धेरैजसो, लुम्बिनीका केही भूभाग र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बैतडी तथा बझाङलगायत जिल्लामा औसतभन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ ।
यस्तै कोशी प्रदेशका मध्य तथा उत्तर(पूर्वी भेग, बागमतीका दक्षिण पूर्वी भेग र मधेशका अधिकांश भागमा भने औसत हाराहारी वर्षा हुने प्रक्षेपण छ ।
कर्णाली र गण्डकीका धेरैजसो, सुदूरपश्चिमका मध्य तथा उत्तरका थोरै क्षेत्र, लुम्बिनीका पश्चिम तथा मध्य क्षेत्र र कोशीका दक्षिण क्षेत्र भने झनै कम पानी पर्ने प्रक्षेपण छ । वर्षा कम हुने क्षेत्रमा अधिकतम तापक्रम औसतभन्दा बढी भएर गर्मी हुने अनुमान छ ।
अघिल्ला तीन मनसुनमा लानिनाको प्रभाव थियो, यसपटक एलनिनो हुने देखिएको छ ।
मनसुन सिजनमा सामुद्रिक तापक्रम औसतभन्दा बढी भएर त्यसको असर वायुमण्डलमा पर्छ । यसको प्रभावले वर्षा कम गराउने मौसमविदको भनाइ छ ।
मौसमको अवधि १८ जेठदेखि १३ असोजसम्म रहनेछ ।
प्रतिक्रिया