Breaking

एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुने-प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुने बताएका छन् ।

२५६७औँ बुद्धजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बुद्धको त्याग, विचार र अभ्यास नेपालीका लागि विशेष ऐतिहासिक गौरवका विषय भएको प्रधानमन्त्रीको भनाई छ ।

शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको भूमिमा जन्मिनुभएका शान्तिका अग्रदूत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गर्नुभएको प्रसङ्ग आज पनि उत्तिकै महत्वपूर्ण मानिन्छ, बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेका हुन् ।’

प्रधानमन्त्री दाहालले बुद्ध दर्शन, बुद्धको जन्मभूमि लुम्बिनी र महत्वपूर्ण सबै बौद्ध क्षेत्रहरूको प्रवर्द्धन र विकास गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुद्धजयन्तीले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास उनको छ ।