Breaking

व्यवसायी शंकर कँडेलले ‘सुसाइट नोट’मा नाम लेखेका चार्टर्ड एकाउन्टेन्ट पक्राउ


काठमाडौँ – व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर्ड एकाउन्टेन्ट जीवन रावल छन्।

भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। राति नै उनलाई चितवन ल्याइएको छ। आजैदेखि अनुसन्धानको प्रक्रिया अघि बढाउने उनले बताए।

भागेर लुकेको अवस्थामा रावललाई प्रहरीले पक्राउ गरेको हो। कँडेलले आत्महत्याअघि लेखेको ‘सुसाइट नोट’मा रावल र सोही कम्पनीको ८५ प्रतिशत सेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका छन्। सो घटनापछि निरन्तर दबाबमूलक कार्यक्रम भइरहेका छन्।

रुङ्गटा पक्राउका लागि नेपाल र भारतीय भूमिमा खोजी भइरहेको प्रहरीले जनाएको छ। पण्डितले नेपाल प्रहरी, सीआईबीलगायत सङ्गठनका निकाय परिचालन भएकाले छिट्टै पक्राउ पर्ने बताए। कँडेल मङ्गलबार साँझ चितवनको नारायणगढस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए। नेपालका परिचित पोल्ट्री व्यवसायी कँडेल नेपाली कांग्रेसका महासमिति सदस्यसमेत थिए।

कांग्रेससहित उद्योगी व्यवसायीको अगुवाइमा बुधबार र बिहीबार भरतपुरमा बृहत् प्रदर्शन भएको थियो। कँडेलले आफूले नेतृत्व गरिरहेको अनमोल फिड्सको ८५ प्रतिशत सेयर रुङ्गटालाई बिक्री गरेपछि सो समूहले मानसिक तनाव दिएकै कारण आत्महत्या गर्नुपरेको ‘सुसाइट नोट’मा लेखेका छन्।