Breaking

मन्त्रिपरिषद्को पूर्णता कहिले ?सरकारको १३० दिन भागबण्डामै बित्यो,कसले गर्दै छ ढिला?


काठमाडौँ — नवौं पटक मन्त्रिमण्डल विस्तारहुँदा पनि दुई मन्त्रालयको जिम्मा प्रधानमन्त्रीकै काधँमा, मन्त्रीका कारण कांग्रेसभित्र थप किचलो, सभापति भन्छन् सबैलाई समेट्न सकिएन ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारमन्त्रिमण्डलमा थपेका ३ मन्त्रीहरुले बिहीबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्रीले पाँच महिनामा नवौं पटकसम्म मन्त्रिपरिषद् विस्तार गरे पनि यसले अझै पूर्णता भने पाउन सकेको छैन । पुस १० गते नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेकपा एमालेसहितका सात दललाई साथमा लिएर पहिलो पटक मन्त्रिमण्डल विस्तार गरेको प्रचण्ड नेतृत्वको सरकारले पाँच महिनामा ९ औं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

यसबीचमा समीकरण नै बदलेर नेपाली कांग्रेससँग गठबन्धन गरेको सरकारले बिहीबार मात्रै पनि कांग्रेसका थप तीन जनालाई मन्त्रीमा पद तथा गोपनीयताको शपथ खुवाएको छ । कानुन मन्त्रीमा धनराज गुरुङ, स्वास्थ्यमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । तर, यस अवधिमा पटक पटक मन्त्रि परिषद् विस्तार गरे पनि सरकारले अझै पूर्णता भने पाएको छैन । गत चैतमा नै सबै दलहरुबीच मन्त्रालय भागबण्डामा कुरा मिलिसकेको भए पनि गठबन्धनभित्रै समस्या उत्पन्न हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भइरहेको छ ।

माओवादीले आफ्नो भागमा परेको ५ मन्त्रालयको परिपूर्ति पहिल्यै गरिसकेको भए पनि कांग्रेसमा दुई समूहबीच कुरा नमिल्दा मन्त्रालयको कुर्सी खाली नै हुन पुगेको थियो । कांग्रेसको भागमा परेको ८ मन्त्रालयमा सभापति शेरबहादुर देउवाले ६ र शेखर–गगनले ३ मन्त्रालयको दावी गर्दा कांग्रेसबीच भागबण्डामा कुरा बाझिएको थियो । तर, देउवाले इतर समूहलाई पेलेरै जाँदा कांग्रेसको भागमा परेको मन्त्रालयको परिपूर्ति गरेको छ । यद्यपि देउवाको विश्वास पात्र बस्नेतले स्वास्थ्य जस्तो मालदार मन्त्रालय हात पार्दा मन्त्रालयमा थप एकको फोटो झुण्डिएको छ । तर, अझै वन तथा वातावरण, खानेपानी र एक राज्य मन्त्रालय मन्त्रीविहीन छ । जनता समाजवादीको भागमा परेको २ मन्त्रालयमध्ये अब एक मन्त्रालयमा मन्त्री पठाउन बाँकी नै छ ।

परराष्ट्र नपाएपछि स्वास्थ्यमा दावी गरिरहेको जसपाले अब वन वा खानेपानीमध्ये एक रोज्नु पर्ने छ । तत्कालिन सरकारमा रहेको जनमत पार्टी सरकारबाट बाहिरिए पछि खानेपानी मन्त्रालय खाली भएको थियो । जनमतको भागमा एक राज्यसहित २ मन्त्रालय परेको थियो । नेकपा एस २, लोसपा १, नागरिक उन्मुक्ति १, आम जनता पार्टीलाई १ र नेसपाले पाएको १ मन्त्रालयमा पदपूर्ति भइसकेको छ । आ–आफ्नै स्वार्थ सिद्धकै लागि मात्र मन्त्री नियुक्त गर्दा सरकारको सुरुवाती १३० दिन भागबण्डा र नेता रिझाउनमा नै सकिएको छ । अझै मन्त्रिमण्डलले पूर्णता नपाएको र उपनिर्वाचनबाट २१ सीटको हैसियत बनाएको रास्वपा पनि सत्तामा सामेल हुन गरिरहेको बार्गेनिङले यस्ता दिन कति खेर जाने हो भन्न मुश्किल छ ।