Breaking

सत्ता टिकाउने खेलमा लाग्दा जिर्ण बन्दै माओवादी, सबैथोक दाउमा राखेर किन बढ्दैछ प्रचण्डको ‘सत्तामोह’ ?


काठमाडौँ — विस्तृत शान्ति सम्झौतापछि २०६४ सालमा आवश्यक एकल बहुमतसहित प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड अहिले अरु दलको बैशाखी टेकेर सत्ताको बागडोर सम्हाल्नुपर्ने अवस्थामा आइपुगेका छन् । सदनको तेस्रो ठूलो शक्ति माओवादी केन्द्र गठबन्धनको जगमा सरकारको नेतृत्व गरिरहेको छ । अस्थिर राजनीतिक अंकगणित भए पनि सत्ता स्थिर बनाउन भन्दै प्रधानमन्त्री प्रचण्डले सबथोक दाउमा लगाएका छन । सत्ता टिकाउने नाममा गठबन्धन दललाई चित्त बुझाउन सबै अस्त्र प्रयोग गर्न खोज्दा प्रचण्ड आफ्नै पार्टी र संगठनको भद्रगोल अवस्थालाई भने सुधार्न सकिरहेका छैनन् ।


सदनको तेस्रो ठूलो शक्ति माओवादी केन्द्र सत्ता साझेदार दलहरुको चित्त बुझाएरै भएपनि सत्ता टिकाईराख्ने रणनीतिमा छन् । तीन दशकदेखि माओवादी केन्द्रको नेतृत्व गर्दै आएका अध्यक्ष प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्दै सत्ता सम्हालेको चार महिना वित्यो । तर प्रचण्डले न त सरकार सहि ढंगले चलाउन सकेका छन न त पार्टी नै । प्रधानमन्त्री पद सम्हालेको ४ महिना वितिसक्दा पनि उनले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकिरहेका छैनन् । सत्ता टिकाउने होडमा सत्ता साझेदार दलहरुको चित्त बुझाउँदा बुझाउँदै उनले आफ्नै पार्टी र संगठनभित्रको भद्रगोल अवस्था सुधार्नेतिर ध्यान लैजान सकिरहेका छैनन् । पार्टी थप जिर्ण बन्दै गएको बुझेका उनले आफ्ना नेता तथा कार्यकर्ताको मन बुझाउन जनयुद्ध दिवस घोषणा, अयोग्य लडाकुलाई पैसा बाँड्नेलगायत केही सरकारी निर्णय त गराए, तर चर्को आलोचना खेप्नुपर्यो ।

सत्ता साझेदार दलबाटै हप्की खेप्नुपर्यो । सत्ता र पार्टी दुबै जोगाउन खोज्दा पार्टीको संगठन सुदृढिकरणमा उनी निक्कै चुक्दै गइरहेका छन् । पार्टीको आठौ महाधिवेशन सहमतिको महाधिवेशन भनिए पनि पद वाँडफाँड नै वेमेलको विजारोपण भएकोले पनि यसलाई थप पुष्टि गर्छ । कमजोर बन्दै गएको संगठनको असर भर्खरै सम्पन्न चुनावमा पनि देखियो । नयाँ दलहरुको उदय हुँदै गर्दा माओवादी केन्द्र तेस्रो शक्तिमा पुगेको छ भने माअ‍ेवादी वृतमा नयाँ धारको बहसले मौका पाउँदै गएको छ ।

चुनावपछि पुराना पार्टी, पहिलो बनेको कांग्रेस होस् या लोकप्रिय मत पाएको एमाले चुनावी समिक्षा र सुधारमा जुटेका छन । पार्टी सृदृढिकरणका लागि नेता कार्यकर्ता भेट छलफल योजनाहरु लागु गरिरहेका छन तर प्रत्यक्षतर्फ ३६ सिटबाट झरेर १८ सिटमा झरेको माओवादी अझै सत्ता स्वादमै रनभुल्ल छ । राष्ट्रिय राजनीतिमा संकटमा रहेको माओवादी जनतामाझ थप जिर्ण बन्दै गएको छ । माओवादलाई मार्गनिर्देशक सिद्धान्त मान्ने नेताहरु ध्वस्त बनेको आन्तरिक पार्टी व्यवस्थापन र संगठन सृदृढिकरणमा भन्दा समाजवादी फोर्स बनाउनेतिर जोड दिन थालेका छन् । भत्किँदै गरेको पार्टीलाई समाजवादी मोर्चा बनाएर सुधार्ने आशा निराशामा परिणत होला कि यसले नयाँ रुप लेला ?

सत्ता टिकाउन जस्तोसुकै लचकता अपनाउन पछि नपर्ने प्रचण्डले संगठन सुधारका लागि प्रयास नगरेको भने होइन । केहि समय अगाडि हरेक शुक्रवार पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भेटघाट गर्ने कार्यक्रमको शुरूवात गर्ने उद्घोष गरे । तर कार्यन्वयनमा आएन । पछिल्ला दिनहरुमा पार्टीको सबै काम प्रभावित हुँदा संगठन झन कमजोर बन्दै गएको छ ।

आफ्नो राजनीतिक एजेन्डा स्थापित भएको हुँकार गर्ने र माओवादी पार्टीबाट नै राष्ट्रिय राजनीतिमा उदाएका नेताहरु पार्टी र संगठन नेता कार्यकर्ता भन्दा आफ्नो स्वार्थमा केन्द्रत हुँदा इतिहास बोकेको माओवादी थप जिर्ण बन्दै गएको छ । दलीय व्यवस्थामा दल मुख्य भए पनि पार्टीभन्दा व्यक्ति हावी हँुदा संगठन संकट उन्मुख छ । अस्तित्व जोगाउनै हम्मे बनेको छ । पार्टी सुधारतिर त्यति ध्यान नदिएर सत्ता टिकाउने खेलमा मात्रै केन्द्रीत हुँदा आगामी चुनावबाट माओवादी इतिहासको पानामा मात्रै खोज्ने अवस्था आउने पो हो कि ?