Breaking

राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् । राष्ट्रपति पौडेल नयाँ दिल्लीबाट उपचार गरेर आएपछि प्रधानमन्त्रीले पहिलो पटक भेट गर्न लागेका हुन् ।

राष्ट्रपति पौडेल अहिले शीतल निवासमै आराम गरिरहेका छन् । उनले यसअघि राजनीतिक तथा व्यक्तिगत भेटघाट रोकेका थिए । पौडेल यही आइतबार राति नेपाल एअरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका थिए । त्यसयता चिकित्सकको सल्लाहअनुसार उनी आराम गरिरहेका छन् ।

राष्ट्रपति पौडेल गत वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार का लागि गएका थिए । यो भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले बुधबार नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त तीन नेताको शपथबारे पनि कुरा गर्ने बताइएको छ ।

त्यसैगरी आगामी २४ गते बस्ने गरी बोलाइएको बजेट अधिवेशनबारे पनि दुई नेताबीच छलफल हुन सक्ने स्रोतले बताएको छ । राष्ट्रपतिले संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आगामी वैशाख २४ गते अपरान्ह ४ बजे बस्ने गरी आह्वान गरिसकेका छन् ।