Breaking

दार्चुला हिमपहिरोमा मृत्यु भएका सबैको सनाखत, बेपत्ताको खोजी जारी


काठमाडौँ – मंगलबार दिउँसो दार्चुलाको व्याँस गाउँपालिका-१ को भोलुम डाँडामा गएको हिमपहिरोमा परेर ज्यान गुमाएका सबैको सनाखत भएको छ ।

भोलुम डाँडाको भिरमा अड्किएको अवस्थामा बुधबार शव निकालिएका तीनै जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

भीरमा अड्किएको अवस्थामा निकालिएको शव दार्चुलाको दुहुँ गाउँपालिका-४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापाको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हिमपहिरोमा हराइरहेका डोटीको जोरायल गाउँपालिका-२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमी सामो थापाको अवस्था अज्ञात छ । उनीहरुको खोजीका लागि बिहीबार सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलतर्फ लागेको छ ।

मंगलबार हिमपहिरो गएपछि यार्सागुम्बा टिप्न गएका ५ जना बसिरहेको टेन्टसहित बेपत्ता भएका थिए भने ७ जनाले भागेर ज्यान जोगाएका थिए ।