Breaking

रविको सत्ता यात्रा कति सहज ? रास्वपा सत्ता वा प्रतिपक्ष, रविले किन भेट्दै छन् यी नेताहरु ?


काठमाडौँ — उपनिर्वाचन लगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने जस्ता अभिव्यक्ति दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले भने सरकारमा जान चाहेको बुझिन्छ । दिन बिराएर शीर्ष नेताहरुलाई भेटेका उनी स–सर्त सरकारमा सामेल हुन चाहे पनि सत्ता यात्रा भने त्यति सहज देखिदैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अचेल बालुवाटर र धुम्बाराही खुब धाइरहेका छन् ।

आईतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटरमा नै गएर भेटे । प्रचण्डसँगको भेटले मात्रै पनि रविको सत्ता यात्रा सुनिश्चित नहुने भएपछि त्यसको दुई दिनपछि अर्थात् मंगलबार प्रधानमन्त्रीकै सल्लाहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगे । सरकारलाई नयाँ शक्तिहरु एकै ठाउँमा उभिएको संकेत दिन सरकारकै समर्थन गरिरहेको जनमत पार्टीका सीके राउतसँग पनि मंगलबार नै भेटे ।

सदनको चौथो ठूलो दलका सभापतिको नाताले कार्यकारी राष्ट्र प्रमुख र शीर्ष दलका नेतालाई भेट्नु स्वभाविक नै हो । तर, उपनिर्वाचन पछि पुनः संसदीय दलको नेता हुँदै सत्ता गठबन्धनका दुई ठूला नेतासँगको भेटले रवि फेरि पनि सत्तामा नै फर्कन तत्पर बनेको देखिन्छ । यद्यपि, सत्ताकै लागि मात्रै सरकारमा नजाने रास्वपाले भन्न छाडेको छैन ।

पाँच महिना अघि सरकारलाई दिएको समर्थन रास्वपाले अहिलेसम्म फिर्ता गरेको छैन । अस्थिर राजनीतिको कारक नबन्ने भन्दै समर्थन जारी राखेको पार्टीलाई सत्ता गठबन्धन पनि सरकारमा नै फर्काउन चाहन्छ । तर,गठबन्धनभित्रै पनि रविलाई सरकारमा फर्काउन चुनौती छ । प्रचण्डको भेटमा रविलाई देउवातिर पन्छाईदिए पनि देउवाले गृह माओवादीकै भागमा परेको भन्दै प्रचण्डलाई नै सुम्पिएका छन् । गृह सम्हाल्नकै लागि भौतिक तथा यातायात छोडेका नारायणकाजी पनि व्यवस्थापन गर्न पनि माओवादीलाई सहज छैन । जसका कारण दुवैको इच्छा हुँदा हुँदै पनि रविको सत्ता यात्रा कठिन देखिन्छ ।

त्यसो त रविलाई सत्ता बाहिर नै बस्न चौतर्फी दवाव छ । स्थापित र परम्परागत दलको विकल्प भनेर जनतामाझ गएको रास्वपा लड्नु पर्ने तिनै पार्टीसँग टासिँदा जनतामा रविको छवि पनि धुमिलिने हो कि भन्ने प्रक्षेपणसमेत सुरु भएको छ । नयाँ दलहरु पनि सत्ता कै लागि मात्रै मरिहत्ते गरेर लागिपर्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले नयाँ र पुराना दुवै पार्टीलाई चोरको संज्ञा दिन पछि हटेनन् । राजनीतिक विश्लेषक र अधिकांश रास्वपाका शुभचिन्तकहरु फेरि पनि उही प्रचण्ड, देउवासँग नै हात मिलाएर सरकारमा जानु भन्दा बाँकी ४ वर्ष प्रतिपक्षमा बसेर जनताको आवाज बनेको हेर्न चाहिरहेका छन् ।

रास्वपा उपनिर्वाचनलगत्तै सत्तापक्षबाट बाहिरिने मनस्थितिमा देखिए पनि अहिले भने सरकारमा सामेल हुन खोजिरहेको छ ।सत्तामा जाँदै नजाने हो भने प्रतिपक्षीमा बसेर कुनै औचित्य नहुने र जनतालाई डेलिभरी पनि दिन नसक्ने पार्टीको ठम्याई छ । रास्वपाले सरकारमा जाने वा नजानेबारे सोमबार अन्तिम निर्णय गर्ने भनेको थियो । तर, सत्ता पक्षसँग भागबण्डा मिलाउनकै लागि पार्टीले बैठक शुक्रबारका लागि सारेको छ । शुक्रबारसम्म पनि मन्त्रालयमा कुरा नमिले फेरि रास्वपाको बैठक लम्बिने निश्चित छ ।