Breaking

कँडेल मृत्यु प्रकरणमा परिवारले दिए ६ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी


काठमाडौँ – चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा उनका परिवारले ६ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएका छन् ।

मानसिक यातनाका कारण कँडेलले आत्महत्या गरेको भन्दै आत्महत्या दुरूत्साहन मुद्दामा उनको परिवारले प्रहरीमा किटानी जाहेरी दिएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।

उनका अनुसार कँडेलले सुसाइड नोटमा नाम उल्लेख गरेका ६ जना विरूद्ध आत्महत्या दुरूत्साहनको मुद्दामा किटानी जाहेरी दिइएको छ ।
अनमोल फिड कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्गटा र कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावल लगायतविरुद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका ३, बेलचोकस्थित आफ्नै कार्यालयमा मंगलबार साँझ झुण्डिएको अवस्थामा कँडेल मृत फेला परेका थिए । त्यहीँ उनको सुसाइड नोटसमेत फेला परेको थियो ।

केहीमहिना अघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रा।लि।मा संकट देखिएपछि केही शेयर बाँकी राखेर ८५ प्रतिशत शेयर प्रदीप रुङ्टालाई बेचेका थिए । शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्गटा र रावलले मानसिक दबाव दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीको भनाइ छ । उजुरीपछि उनीहरूको खोजी थालेको प्रहरीले जनाएको छ ।

यसैबीच नेपाली कांग्रेस चितवन सभापति खनालले आज विज्ञप्ति जारी गर्दै यो घटनाको न्यायिक छानबिन गर्न माग गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा कँडेलको हस्ताक्षर भएको नोटमा उल्लेखित पात्र, प्रवृत्ति र वर्तमान आर्थिक अवस्थाको गम्भीर संकेत गरेको भन्दै सम्वेदनशील भई राज्यको तर्फबाट घटनाको छानबिन गर्न माग गरिएको छ ।