Breaking

हिमपहिरोको जोखिम बढेपछि यार्सा टिप्न गएकाहरू घर फर्किँदै


काठमाडौँ – हिमपहिरोको जोखिम बढेपछि यार्सागुम्बा संकलकहरू धमाधम घर फर्किन थालेका छन् ।

निरन्तर वर्षाले हिमपहिरोको जोखिम बढेपछि बझाङका पाटनमा यार्सा टिप्न गएकाहरू धमाधम घर फर्किन थालेका हुन् । अहिले जिल्लाभर भारी वर्षा भइरहेको छ । हिमाली भेगमा अत्यधिक हिमपात भइरहेको छ ।

सोमबार सुर्मा गाउँपालिका १ देवडीकी ३३ वर्षीया झल्लादेवी बोहरा हिमपहिरोमा परी बेपत्ता भएकी थिइन् । छोरासहित पार्थी हिमालको वनमा यार्सा टिप्न गएकी उनी राति हिमपहिरो खस्न थालेपछि भाग्न खोज्दा पहिरोमा फसेकी हुन् । उनी अझैँ भेटिएकी छैनन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ताका अनुसार उनको खोजीमा मंगबार सुर्मा प्रहरी चौकीबाट टोली खटाइएको जनाएको छ । मंगलबार छिमेकी जिल्ला दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी ५ जना यार्सागुम्बा संकलकहरू बेपत्ता भएका थिए । ७ जनालाई उद्धार गरी छाङरु ल्याइएको छ ।