काठमाडौँ — एसीसी प्रिमियर कप क्रिकेटमा ऐतिहासिक जित निकाल्दै नेपाल एसिया कपमा छनोट भएको छ । मौसमका कारण सोमबार र मंगलबार गरी दुई दिन भएको उपाधि भिडन्तमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिया कपमा छनोट हुन सफल भएको हो । फागुनको अन्तिम हप्ता नेपाली क्रिकेटको लागि विशेष रह्यो । आईसीसी वल्र्ड कप लिग २ मा नेपालको जादुमय पुनरागमन गर्दै एक दिवसीय मान्यता जोगाउन सफल भयो ।
त्यो खुशीयाली सेलाउन नपाउँदै लिग २ को अन्तिम खेलमा युएईलाई डग बर्थ लुइसको आधारमा हराउँदै आईसीसी विश्वकप छनोट खेलमा सहभागी हुने सुनौलो मौका पनि पायो । लिग २ का १२ मध्ये ११ खेलमा जीत हासिल गर्दै नेपालले तेस्रो स्थान प्राप्त गरेसँगै नेपालीहरुले विश्वकप क्रिकेटको सपना पनि देख्न थालिसकेको छ । सपना पछ्याउने क्रममा टियु मैदानमा मंगलबार भएको फाइनलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बन्यो ।
युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि गुल्सन झाले ८४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले । गुल्सनले एकदिवसीय अन्तराष्ट्रियमा आफ्नो दोस्रो अर्धशतक ७५ बलमा पूरा गरेको थियो । गुल्सनले भीम सार्कीसँग मिलेर चौथो विकेटका लागि ९२ रनको अविजित साझेदारी गरेको थियो । भीमले ७२ बलमा ३६ रनमा अविजित रहेको थियो ।
ओपनर कुशल भुर्तेललाई दोस्रो ओभरमा रोहन मुस्तफाले एलबीडब्लु धरापमा पारे । अर्का ओपनर आसिफ शेखले आयान खानको बलमा ८ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल रोहन मुस्तफाको बलमा १ रनमा बोल्ड आउट भए । युएईका लागि रोहन मुस्तफाले २ तथा आयान खानले १ विकेट लिए । त्यसअघि टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो । रोकिएको स्थितीबाट खेल सुरु भएकोमा युएईले ११ रन थप्दै आफ्नो अन्तिम विकेट गुमायो ।
नेपालका लागि ललितनारायण राजवंशीले अन्तिम विकेट लिए । युएई ३३ दशमलब १ ओभरमा १० विकेट गुमाएर १ सय १७ रन बनायो । युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छककाको सहयोगमा ५४ रन बनाए । खानलाई ललितनारायण राजवंशीको बलमा विकेट किपर आसिफ शेखबाट समातिए । ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन बनाए । वसिल हमिद र आसिफ खानले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गरेको थियो । वासिलले २७ बलमा १० रन बनाएका थिए । कप्तान तथा ओपनर मुहम्मद वासिमले १ चौका र १ छक्काको सहयोगमा ८ बलमा ११ रन बनाए ।
नेपालका लागि ललितनारायण राजवंशीले ७ दशमलब १ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान २÷२ तथा गुलसन झा, सोमपाल कामीले समान १÷१ विकेट लिए । यस उपाधिसँगै नेपालले २१ वर्षपछि एसिया कपमा स्थान बनाएको छ । एसीसी प्रिमियर लिगको उपधिसँगै नेपालले अर्को सफलता पनि हात पारेको छ । सन्दिप लामिछाने सर्वोत्कृष्ठ खेलाडी बन्न सफल भएका छन् ।
नेपालले यस अघि सन् २००२ मा एसिया कपमा स्थान बनाएको थियो । नेपालले पछिल्लो समय गरेको प्रगति निकै लोभलाग्दो छ । लिगको बाँकी १२ खेल खेल्दा नेपालले थप २२ अंक जोड्दै ४० अंकका साथ तेस्रो स्थानमा उक्लियो । यो हिसाबले हेर्दा नेपाल कमजोर टीम होइन । क्वालिफायर लिगमा ठूला राष्ट्रहरुलाई मजाले चुनौती दिन सक्ने हैसियत बनाएको छ नेपालले । चार टेस्ट मान्यता प्राप्त राष्ट्रहरुमध्ये कुनै एकलाई जितेमात्रै पनि नेपालको अन्तर्राष्ट्रिय छवि निकै माथि जानेछ ।
दोस्रो चरणको छनोट खेलमा नेपालले सफलता पाउन सक्छ भन्ने खास आधार त छैन । तर क्रिकेट भनेको असिमित सम्भावनाहरुको खेल हो । जीत हार भनेको क्रिकेटमा भविष्यवाणी गर्न कठिन विषय पनि हो । जे होस नेपालले पाकिस्तान र भारत जस्ता क्रिकेट माहरथीसंग लडाई गर्ने बाटो भने पक्का गरेको छ ।
प्रतिक्रिया