Breaking

मन्त्रीसँगै मिलेन प्रचण्डको बोली, असन्तुष्टी बढ्दो, मुख्यमन्त्रीले उठाए सुरक्षामा प्रश्न


काठमाडौँ — प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार गठन भएको चार महिना बित्यो । यो अवधि नागरिकको जनजीविकाभन्दा नेताहरुकै व्यवस्थापनमा व्यतित हुन पुग्यो । यो अवधिमा आम नागरिकको दुखमा मल्हम लगाउने कुनै कदम अघि बढ्न सकेन भने नेता र मन्त्रीहरुको दिल समेत दिल खुस बनाउन प्रधानमन्त्री प्रचण्ड सफल हुन सकेनन् । उल्टै उनी बहालवाला मन्त्रीहरुको हप्की खेपिरहनुपरेको छ । सदनको तेस्रो शक्ति भएर पनि १० राजनीतिक दल र तिनका नेताहरुलाई भागवण्डा मिलाएरै गठबन्धनको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्ड निरन्तर आलोचित बन्दै गएका छन् ।

प्रधानमन्त्री बने यता नागरिकको जनजीविकाभन्दा सत्ता समिकरण फेरबदलदेखि नेतृत्व व्यवस्थापनमै उनको समय व्यतित भइरहेको छ । ४ महिनाको अवधिमा नागरिकको दुःखमा मल्हम लगाउने कुनै कदम अघि बढेन भने उनले उल्टै बहालवाला मन्त्रीहरुको हप्की खेपिरहनुपरेको छ । वित्तिय अराजकताक नियन्त्रणका लागि प्रधामन्त्री प्रचण्ड र गृह प्रशासन सक्रियता बढाउने पक्षमा छन् । मन्त्रीहरु भने आगोमा घिउ थप्ने काममा तल्लिन देखिन्छन् ।

यसको पछिल्लो उदाहरण हो संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराती । उनले बैंक तथा वित्तीय संस्थालाई ‘नयाँ शोषक’को संज्ञा दिएर चर्चामा आए । यस्तै प्रधानमन्त्री प्रचण्डलाई निरन्तर बोक्दै आएका माधव कुमार नेपालको विश्वास पात्र कृषिमन्त्री समेत रहेका बेदुराम भुसालले कुषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो नदिएको भनेर आलोचनामा उत्रिएका छन् । आगामी आर्थिक वर्षको बजेटमा कृषि मन्त्रालयको बजेट कटौति गरेको भन्दै उनले प्रधानमन्त्रीमाथि असन्तुष्टि पोखेका छन् ।

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसकै विरोधका बिच प्रधानमन्त्री प्रचण्ड १८ वर्षपछि माओवादीका अयोग्य लडाकुलाई जनही २ लाख रुपैयाँ दिने निर्णयमा पुगेका छन् । उनले चितवन पुगेर यो निर्णयबाट सरकार पछि हट्न नसक्ने प्रतिक्रिया दिएका छन् । तर केहि दिनअघि अर्थमन्त्री डा. प्रकाशशरण महतले अयोग्य माओवादी लडाकुलाई दुई लाख दिने निर्णयवारे आफु अनविज्ञ रहेको भनेर प्रतिक्रिया दिएर पन्छिने काम गरेका छन् । यो प्रतिक्रिया पनि प्रधानमन्त्री प्रचण्डलाई असहयोग गरेको अर्को प्रमाण हो ।

संघमा सत्ता टिकाउन धौ–धौ खेपिरहेका प्रधानमन्त्री प्रचण्ड प्रदेशतिर पनि आलोचना खेप्न बाध्य छन । मधेश प्रदेशले सुरक्षा प्रभावकारीताबारे सरकारमाथि प्रश्न उठाउँदा प्रचण्ड यसको जवाफ दिन सकिरहेका छैनन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुख्यमन्त्रीको खल्तीबाट दिनदहाडै पैसा चोरी भएको भन्दै सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएसँगै यसले केन्द्र सरकारले आम नागरिकमाथि गर्ने सुरक्षा प्रत्याभूतिको विषय पनि उठान गरेको छ ।

सडक र सदनमा समेत चौतर्फि घेराबन्दीमा रहेका प्रधानमन्त्री प्रचण्डलाई सत्ता सहयात्रीको समेत सहज साथ नहुँदा अबको सत्ता यात्रा थप चुनौतीपूर्ण बन्दै गएको देखिन्छ । प्रतिपक्षी प्रचण्डको खेदो खन्न लागि परेका छन भने उनले सत्ता पक्षकै साथ पाउनसमेत मुस्किल बन्दै गएको छ । दुई–दुई पटक सदनको विश्वास जिते पनि आफ्नै क्याविनेटका मन्त्रीहरुको मन जित्न नसकेका प्रचण्ड थप चुनौतीसँग मुकाबिला गर्नुपर्ने अस्थामा छन् ।