खेलकुद

उपाधि चुम्ने नेपालको दाउमा वर्षा बाधक, क्रिकेटका ‘क्रेजी फ्यान’ हरु छाता वढेरै खेलको प्रतिक्षामा बसिरहे


काठमाडौँ — नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल हेर्न दर्शकहरु वर्षाको कुनै प्रवाह नगरी सोमबार टियु क्रिकेट मैदान पुगे । नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएसँगै वर्षाका कारण स्थगित खेल मंगलबार बिहान हुने भएको छ । सोमबार देखिएको दर्शकको क्रिकेट मोह सम्बोधन गर्दै मंगलबार हुने बाँकी खेल हेर्नभने उनीहरुले नयाँ टिकट किन्न नपर्ने व्यवस्था मिलाइएको छ ।

इन्द्रदेवका अगाडी कसैको जोर चलेन । युएईले ब्याटीङ गरिरहेको अवस्थामा २७.३ ओभरमा रोकिएको खेल आजका लागि पुन सुरु हुन सकेन । सोमबार रोकिएको खेल पुन मंगलबार २७.३ ओभरबाटै सुरु हुनेछ । तर मंगलबार पनि वर्षाको कारण खेल हुन सकेन भने दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ ।तर वर्षाको कारण सुपर ओभर पनि हुन सक्ने अवस्था नभए आइसीसी एकदिवसीय अन्तर्राष्ट्रिय ओडिआई वरीयतामा माथि हुने टोली एशिया कपमा पुग्नेछ ।

आईसीसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा रहेका छन् । युएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसीया कपमा स्थान बनाउने दाउमा छ । त्यसैलेयो खेल नेपालका लागि विजयी हुनेसंग मात्रै संम्वन्धीत छैन । नेपाल विजयी बनेको खण्डमा नेपाली क्रिकेटको कोर्स अर्काे ऐतिहासिक खण्डमा प्रवेश गर्नेछ । त्यसैले यी नेपाली क्रिकेट प्रेमीहरुले न वर्षाको पर्वाह गरे न चिसो भुइँ र हिलाम्मे परिस्थितिको । नेपालीको रगतमै छ देश भक्ति, रगतमै छ राष्ट्रियता । आफू विरामी परेर पनि देशले जितोस । यही भावना कीर्तिपुरमा उर्लियो ।

तर देश जिताउन खेलाडीहरुलाई आत्मै देखि हौसला प्रदान गर्न हजारौँ हजार युवाहरु उर्लिदा पनि सरकार चाहीँ चीर निन्द्रामा छ । विडम्बना, सरकारले एउटा पाराफिट समेत बनाउन सकेको छैन । पछिल्लो एक दशक नेपाली क्रिकेटले एक पछि अर्काे उचाई लिँदै गएको छ । क्रिकेट प्रेमीहरुको संख्या लाखबाट करोडमा पुगिसक्यो । र पनि क्रिकेट मैदान बनाउने योजना भ्यागुता उफ्राइमा छ ।

गएको चैत्र २ गते आईसीसी क्रिकेट विश्वकप लिग टुअर्न्तगत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै विश्वकप छनोटमा नेपाल सिधै प्रवेश गरेको खुसीयालीमा पनि सुविधायुक्त क्रिकेट मैदानका बारेमा चर्काे आवाज उठ्यो । प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरमा खेल हेर्न पुग्दा फ्लड लाइट र स्कोर बोर्ड राख्न निर्देशन दिएका थिए । अर्थ मन्त्रालयले त्यसको केही दिनमै डीपीआर तयार पारी बजेटको प्रवन्ध गरे पनि बाँकी काम अघि बढेको छैन । र पनि क्रिकेट एसोशियशन अफ नेपाल क्यानका पदाधिकारी पहिलेको भन्दा यस पटक सरकारले क्रिकेटप्रति सरकार केही गम्भीर बनेको आभाष गरिरहेका छन् ।

खेलाडिहरुलाई हौसलाका लागि विजयी भए पिच्छे केही लाख रुपैयाँ रकम खल्तीमा राख्दिँदैमा क्रिकेटको भविष्य सुधार हुँदैन । खेलाडीहरुलाई व्यवसायीक बनाउन, हौसला प्रदान गर्न दिगो लक्ष्य र योजना हुन जरुरी छ । त्यसका लागि उनीहरुको आर्थिक अवस्थामा सुधार त छँदै छ, खेलाडीको क्षमता अभिवृद्धिमा पूर्वाधारको विकास र व्यवस्थापन निक्कै ढिलो भइसकेको छ ।