Breaking

अन्तर्राष्ट्रिय मजदुर दिवस औपचारिकतामै सिमित, बजेट र नीति श्रमिकमुखी बनाउने प्रचण्डको दावी


काठमाडौँ — आज मे एक अर्थात अन्तराष्ट्रिय मजदुर दिवस । मजदुर संघ–संगठनहरुले विभिन्न कार्यक्रम गरी उत्सवको रुपमा यो दिवस मनाएका छन । ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मूल नारा सहित १ सय ३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । सरकारी निकाय तथा ट्रेड युनियनलगायत मजदुर संघ–संगठनले विभिन्न कार्यक्रम गरी उत्सवको रुपमा यो दिवस मनाएका हुन् । श्रमिक दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डले आगामी बजेट र नीति कार्यक्रम श्रमिकमुखी बनाउने प्रतिवद्धता जनाएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष के.पि शर्मा ओलीले मजदुरको हक, हित र उनीहरुको जायज माग सम्बोधन गर्न उनीहरुको बीचको एकता सबैभन्दा ठूलो बल भएको बताउँछन् । मजदुरहरुलाई एकतावद्ध हुन आह्वान गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारले केहि गर्न नसकेको भन्दै आलोचना पोखेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले श्रमिकहरुलाई निःशुल्क रुपमा शिक्षा र स्वास्थ्यको सेवा दिनुपर्ने भन्छन् । श्रमिकको जीवन मर्यादित र सुरक्षित हुन नसकेको भन्दै उनले श्रमिकको मर्यादा, सुरक्षा र जिविकाको सुरक्षातर्फ राज्यले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । सबै श्रमिकहरुलाई सरकारले स्वास्थ्य बीमाको दायरामा ल्याउनुपर्नेतर्फ सरकारलाई उनको ध्यानकर्षण छ ।

औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुले न्यूनतम ज्याला बढाउन, आर्थिक मन्दीका नाममा तलब रोक्ने काम बन्द गर्नुपर्नेलगायत मागहरु नयाँ होइनन् । सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाउन थालिएको हो । १७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए ।

सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णयपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । २०६४ सालदेखि अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन सरकारले आधिकारिक रुपमा सार्वजनिक बिदा दिँदै आएको छ ।