Breaking

तातोपानी नाका पनि दुईतर्फी खुल्यो


काठमाडौँ – सिन्धुपाल्चोकस्थित चीनसँग जोडिएको तातोपानी नाका सोमबारदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।

चीन सहमत भएसँगै यो नाकाबाट पनि रसुवागढीपछि दुइतर्फी आयात निर्यात सुरु भएको हो । सोमबार बिहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रूपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि यो नाकालाई २०७२ को भूकम्पअघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएको थियो । उक्त सहमतिअनुसार नै नेपाल र चीन दुवैतर्फबाट यो नाकाबाट आयात निर्यात खुल्ला भएको हो ।

यसअघि यो नाका चीनबाट सामग्री ल्याउन एकतर्फी सञ्चालनमा आएको थियो । अब २०७२ अघि जस्तै नेपालबाट पनि सामग्री लैजान थालिएको हो ।

नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकको सहमतिअनुसार अनुसार तातोपानी नाकाबाट भूकम्पअघिकै अवस्थामा दुईतर्फी व्यापार र नागरिकको आवतजावत सुचारु गरिएको हो ।

तर दु्वैतर्फ अध्यागमन कार्यालय व्यवस्थित हुन अझै समय लाग्ने बताइएको छ । मजदुर दिवसमा चीनमा पाँच दिन बिदा र नेपालतर्फ अध्यागमन कार्यालयमा कर्मचारी व्यवस्थापनमा समय लागेकोले मानिस आवतजावत गर्न अझै केही समय लाग्ने जनाइएको छ ।