राजनीति

भारतमा उपचाररत राष्ट्रपति आज स्वदेश फर्किँदै


काठमाडौँ – भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् ।

नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आज डिर्चाज भएर स्वदेश फर्किन लागेका हुन् ।

राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेका अनुसार बेलुकी साढे ८ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट राष्ट्रपति पौडेल फर्किने तयारी छ । उनी अस्पतालबाट सिधै विमानस्थलबाट काठमाडौँ आउने कार्यक्रम छ ।

स्वास्थ्यमा समस्या आएपछि वैशाख ६ गते राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिएको थियो । उनलाई उच्च सुरक्षासहित एम्स पुर्‍याइएको थियो । उनको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न रहेको छ । शनिबार नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने जनाएको थियो ।