Breaking

जनकपुरमा आज मिटरब्याज जाँचबुझ कार्यालय उद्घाटन गरिँदै


काठमाडौँ – सरकारले आज (आइतबार) मधेश प्रदेशको राजधानी जनकपुरधाममा मिटरब्याज जाँचबुझ कार्यालय उद्घाटन गर्दै छ ।

नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार बिहान जनकपुरमा कार्यालय उद्घाटन गर्न लागेका हुन् । त्यसका लागि गृहमन्त्री श्रेष्ठ बिहानै जनकपुर पुगिसकेका छन् ।

सरकारले गएको चैत २० गते मिटरब्याज पीडितका समस्या समाधान गर्ने उद्देश्यले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । तीन सदस्यीय आयोगमा उत्तमराज सुवेदी र गणेशबाबु अर्याल सदस्य छन् ।

आयोगलाई मिटरब्याज पीडितका समस्या छानबिन गरी प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ । जनकपुरमा आज आयोगको केन्द्रीय कार्यालय उद्घाटनपछि पीडितबाट उजुरी लिन सुरु गरिने संयोजक कार्कीले जानकारी दिए ।

आजबाट १५ दिन ९वैशाख ३१० सम्म आयोगमा उजुरी गर्न सकिने आयोगले जनाएको छ । आयोगले चार दिनअघि नै विज्ञप्ति जारी गरी सबै पीडितलाई उजुरी दिन आह्वान गरिसकेको छ ।

मिटरब्याजीबाट उठीवास लागेका पीडितहरूले काठमाडौँ आएर आन्दोलन गरेपछि यस विषयमा सरकार गम्भीर भएको हो ।