काठमाडौँ — वर्षाका कारण कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएसँगै नेपाल एसीसी प्रिमियर कप पुरुष क्रिकेटको फाइनल प्रवेश गरेको छ । खेल रद्द भएपछि नेपाल समूह विजेताको रुपमा फाइनल प्रवेश गर्न सफल भएको हो । एसिया कप खेल्ने सपना साकार पार्न नेपालले अब फाइनलमा यूएईको सामना गर्नुपर्नेछ । शनिबार कुवेतविरुद्ध नेपालको सेमिफाइनल खेल हेर्न हजारौँ क्रिकेट प्रेमीहरु टियु क्रिकेट मैदान पुगे । तर, वर्षका कारण पटक–पटक खेल स्थगित हुन पुग्यो । वर्षाका कारण दिउँसो १ बजेपछि सुरु भएको खेललाई ४२ ओभरमा झारियो । नेपालले कुवेतलाई २८१ रनको लक्ष दिएको केही समयमै फेरि वर्षा बाधक बनेपछि नेपालको फाइनल यात्रा तय भएको हो ।
नेपाल समूह ए को विजेता हो भने कुवेत समूह बीको उपविजेता हो । वर्षाले प्रभावित भएर ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो । डक्वर्थ लुइसको आधारमा २ सय ८१ रनको लक्ष्य पाएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाएको स्थितिमा भारी वर्षा सुरु भएपछि खेल रद्द गर्नुपरेको थियो । लक्ष्य पछ्याउन उत्रेको कुवेतमाथि करन केसी भारी परेका थिए । उनले मात्र १० खर्चेर कुवेतका ५ जना खेलाडीलाई पभिलियन फर्काए । सोमपाल कामीले एक विकेट लिए ।
यसअघि नेपालका लागि कप्तान रोहित पौडेल नायक बने । नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ९४ रनको अर्धशतकीय ईनिङ खेले । कुशल मल्लले ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ खेले । ओपनरद्वय कुशल भुर्तेल र आरिफ शेखले तीव्र गतिमा रन बनाउँदै ७७ रनको साझेदारी गरेका थिए । ३९ बलमा ४३ रन बनाएर भुर्तेल आउट भएपछि भने नेपालले ३ रनको अन्तरमा तीन विकेट गुमाउन पुगेको थियो । भीम सार्की मात्र एक रन बनाएर आउट भए लगत्तै शेख पनि ३१ रन बनाएर आउट हुन पुगे ।
यता मुलपानी क्रिकेट मैदानमा युएईले ओमानलाई डीएल पद्दतिको आधारमा २ रनले हराएर फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । एसिया कप खेल्ने सपना साकार पार्न नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईको सामना गर्नु पर्ने छ । नेपाल फाइनल प्रवेश गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन् । क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै उनले सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता जनाएका छन् । यो खेल जितेमा नेपाल एसिया कपमा छनोट हुनेछ । आशा छ, एसिया कपमा छनोट भएसँगै नेपालले भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्ने सपना पुरा गर्नेछ ।
प्रतिक्रिया