काठमाडौँ – सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेशकी पूर्व सांसद गुलेफन खातुन जेल चलान भएकी छन् । एमालेबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी पूर्वसांसद गुलेफन खातुन लामो समयदेखि फरार थिइन् ।
फरारको सूचीमा रहेकी खातुन शुक्रबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेकी थिइन् । आत्मसमर्पण गरेसँगै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
नलाई ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले एक वर्ष कैदको फैसला गरेको थियो । सरकारी सहिछाप किर्ते मुद्दामा २०७४ वैशाख ३१ गते तत्कालीन जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सांसद खातुन सहित उनका श्रीमान् शेख शिलबर मियाँ, तत्कालीन गाविसका कर्मचारी विजय कामत र दिपचन्द मण्डललाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो ।
मोहीको जग्गाका लागि लिएको सिफारिसमा तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकारी छाप किर्ते गरेको उनलाई आरोप लागेको थियो । तत्कालीन गाविसका कर्मचारी कामत र मण्डललाई अड्डाका कर्मचारी भएका कारण थप दुई वर्ष सजायको फैसला भएको छ ।
साबिक कदमाह गाविस–२ ९हाल कटहरी –९० मा मधुसुधनराज पाण्डेको तीन बिगाहा १० कट्ठा जग्गामा खातुनका ससुरा शेख धाइका मियाँको मोही हक थियो ।
सो मोही जग्गामा तीन विगाह १० कट्ठा मोही जग्गा पाउनका लागि २०७१ चैत ४ गते तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको सिफारिस ल्याएकी थिइन् । एउटै दर्ता नम्बरका दुई वटा सिफारिस लिएका कारण किर्ते मुद्दा परेको थियो । उजुरी परेपछि जिल्लाको फैसला विरुद्ध उनी २०७४ भदौमा उच्च अदालत विराटनगर गएकी थिइन् ।
उच्च अदालत विराटनगरले २०७४ पुस ९ गते खातुनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
उच्चको विरुद्धमा सर्वोच्चमा दोहोर्यइ पाउँ भनी दिएको निवेदनमा पनि सर्वोच्चबाट निस्सा नपाएपछि उनको सांसद पद खारेज भएको थियो ।
पद खारेज भएसँगै एमालेले उनको ठाउँमा शकुन्तला बस्नेतलाई प्रदेश सभा सदस्य बनाएको थियो ।
प्रतिक्रिया