Breaking

रवि फकाउँदै प्रचण्ड, प्रचण्डलाई रविको ठाडो जवाफ, सरकार फेरबदलको व्यापक कसरत, काँग्रेसमाथि माओवादीको आशंका


काठमाडौँ — सरकारबारे अनिश्चिय र आशंकामा रहेको नेकपा माओवादी केन्द्रले प्रमुख सत्ताघटक काँग्रेसमाथि नै शंका गर्न थालेको छ । फलतः समर्थन दिएका दलहरुलाई फकाउन प्रधानमन्त्री प्रचण्डले पहलकदमी उठाएका छन् । के सरकार फेरबदलको सम्भावना छ त ? चिवतनमा चुनाव जितेलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकारबारेको उद्घोष गरेपछि रास्वपाका सभापति रवि लामिछानेसँग प्रधानमन्त्री प्रचण्ड हायलकायल छन् । रविले समर्थन फिर्ता लिँदैमा प्रचण्ड आत्तिहाल्नुपर्ने कारण त छैन, तर पुनः विश्वासको मत लिनुपर्ने झन्झट र काँग्रेसले त्यही मौकामा सरकार ढाल्न सक्ने सम्भावित कदमको आंकलन गरेकै भरमा प्रचण्ड आत्तिएका हुन् ।

फलतः उनी शुक्रबारमात्रै सांसदको सपथ खाएका रविलाई फकाएर विश्वास जोगाइराख्ने दाउमा छन् । यसका लागि उनले रविसँग संवाद गर्दै सरकारमै सामेल गराउनेसम्मको पहलकदमी उठाएका छन् । प्रचण्डले पहलकदमी उठाएपनिरविले सरकारमा सहभागी नहुने संकेत गरेका छन् । प्रचण्डकै सरकारमा फेरि सामेल हुँदा आलोचना हुने देखिएपछि उनी बरु विश्वासको मत के गर्ने भन्नेबारे पार्टीमा छलफल चलाउँदैछन् ।

यसले रास्वपाको पहिलो उद्देश्य सरकारबाट समर्थन झिक्ने देखिन्छ । झन जनमत पार्टीले पनि समर्थन फिर्ताकै संकेत गरेपछि प्रचण्ड संकटउन्मुख बन्दैछन् ।राजनीतिशास्त्रीहरुका अनुसार पनि यो समय गठबन्धन फेरबदलको हो । काँग्रेस र एमाले जुनसुकै बेला सत्ताका लागि मिल्न सक्छन् । खाली कुरा, सरकारको नेतृत्वबारे अड्किएको छ ।

गठबन्धन भाड्नकै लागि एमाले अध्यक्ष ओली हलो अड्काएर बसेका छन् । प्रधानमन्त्री प्रचण्डलाई बाधा पु¥याउन हलो अड्काएर बसेका ओलीको अड्चन हटाउन देउवाले पनि भूमिका खेलेका छैनन् । बरु मौन बसेका छन् । देउवाको मौनता र ओलीको अड्कोकाबीच प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्मा संकट भोगिरहेका छन् । जस्तो कि, प्रमुख प्रतिपक्षी नेकपा एमालेले संवैधानिक परिषद्मा अध्यक्षको असहमतिका बाबजुद बहुमतले निर्णय गर्नसक्ने प्रावधान राख्नुपर्ने अडान लिएपछि बुधबारको संसदले संवैधानिक परिषद्सम्बन्धी विधेयक पास गर्न सकेन ।स्वदेशी र विदेशी राजनीतिक चेपुवामा परेपछि यतिबेला प्रचण्ड सरकार फेरिँदैछ भन्ने चर्चा चुलिएको छ ।

माओवादीका नेताहरु नै यो सरकार कतिसमयसम्मको हो भन्ने प्रश्नको सामना गरिरहेका छन् । देउवालाई ओलीले चारैबर्ष प्रधानमन्त्री बन्न गरेको अफर, उपनिर्वाचनमा काँग्रेसले ब्यहोरेको हार र देउवाभित्र पलाएको सत्ताप्रतिको आशक्ति, यी सबै विषयले प्रचण्डले मिलाएको चाजोपाँजो चाँडै भाँडिने तयारीमा छ ।काँग्रेसलाई फकाउन सके, रास्वपा, राप्रपा र जनमतसहितका अन्य साना दल पनि आफुसँगै आइहाल्ने विश्वास एमालेको छ ।सत्ताका लागि एमाले कमजोर छ भन्ने प्रश्न नेताहरु सुन्नै चाहँदैनन् ।

माओवादीहरुमा सरकार गुमाउने भय उत्पन्न भएपनि उनीहरु काँग्रेसले धोका दिइहाल्ला भन्ने विषय स्वीकार्न तयार छैनन् ।तथापी रास्वपा र जनमतले समर्थन फिर्ता लिए एमाले अध्यक्ष ओलीसँग मिलेर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिनसक्छन् । यसो हुँदा संविधानको धारा ७६ को ३ अनुसार ठूलो दलको संसदीय दलको नेताको हैसियतमा देउवा प्रधानमन्त्री बन्नेछन् । काँग्रेसकै नेताहरुले चुनावको हारलाई प्रचण्डसँग गरेको संगतको प्रतिफलका रुपमा हेरिरहेका छन् । किनकि भोट ट्रान्सफर नभएको आरोप उनीहरुको छ ।

मुलतः काँग्रेसभित्र दुईधार देखिएपनि प्रचण्डलाई हटाउँदा सत्तामा पुग्ने देउवाको चाहना पुरा हुन्छ । यता देउवा सरकारको नेतृत्वमा पुगे पार्टीभित्र पेलानमा रहेको महामन्त्रीद्धयले सहज महसुस गर्नेछन् । फलतः काँग्रेसको दुवै पंक्ति अहिले प्रचण्डको बहिर्गमन खोजिरहेको छ । तर काँग्रेस अहिले नै सरकार ढाल्नका लागि तयार छ त ?भन्ने प्रश्नमा उनीहरु अस्पष्ट छन । विशेषगरी कांग्रेस र त्यसभित्रको ‘इतर समूह’ प्रति माओवादीको आशंका छ । ‘विश्वासको मत दिएका घटकहरुमध्येबाट समर्थन फिर्ता भएमा वा प्रमुख साझेदार पार्टी नेपाली कांग्रेसबाट विश्वासघात भएमा सरकार ढल्न सक्छ । जुन पछिल्लो समय प्रचण्डको हाउभाउमा पनि प्रकट हुन थालेको छ ।