Breaking

अब चेतिएला त कांग्रेस ? सकसमा पर्दै गगन र विश्वप्रकाश,देउवामाथि पनि दवाव बढ्दै


काठमाडौँ — सत्तामा जान जो सुकै वोक्न तयार हुने आरोप खेप्दै आएको कांग्रेस पछिल्लो समय विचार र संगठन दुवैमा लथालिङ अवस्थामा छन । केवल नेता उत्पादनको थलो मात्र बनेको पार्टी छोडेर जानेहरुले अनपेक्षित नतिजा ल्याएर तरंग नै सिर्जना गर्दा कांग्रेस झनै तर्सिएको देखिन्छ । नयाँ दलले पुराना दलहरुलाई सक्किने कि सच्चिने भन्ने दुई विकल्प मात्र बाँकि राखिदिएका छन । उपनिर्वाचनको नतिजा आँउदै गर्दा सोमवार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवा हतास देखिए ।

भएभरको शक्ती खन्याउदा पनि राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्रमै विरासत जोगाउन नसकेपछि तर्सिएका उनले ठूला पार्टीप्रति नागरिक चासो नदेखाएको बताए । उनले पार्टीलाई सुधारेर जानुपर्ने भन्दै तन्द्राबाट व्युझिएँ झै भाव देखाए । हुन पनि कांग्रेसमा अन्याय भएको आरोप लगाउँदै चैत १६ गते पार्टी छाडेका स्वर्णिम वाग्लेले यो पाला काग्रेसकै विरासत भत्काए ।

कुल ६५ हजार २९२ मत खसेको तनहुँमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मतमात्र पाउने अवस्था बन्दा विद्रोही उम्मेद्वार बनेका वाग्लेले कांग्रेस कार्यकर्तालाई पनि विद्रोही बनाएको प्रष्ट नै देखियो । यहि उत्साहपूर्ण नतिजाकै कारण जितपछि वाग्ले चितवन पुगेर कांग्रेसलाई नै दह्रो जवाफ फर्काएका छन ।

एक जना अध्यक्षका भरमा चलेको नेपाल विद्यार्थी संघ र तरुण दल जस्ता मेरुदण्डवाला भातृ संगठन वोकेको उसले विभाग समेत गठन गर्न सकेको छैन । विधानबमोजिम प्रत्येक दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक सात महिनादेखि बसेको छैन भने गत मंसिरको आमनिर्वाचनको समीक्षा समेत गरेको छैन । गुट व्यवस्थापनको चुनौतीका कारण मन्त्री समेत पठाउन नसकेको कांग्रेसभित्र गुटभित्रै पनि उपगुटको राजनीति बढ्दो छ ।

जसले कांग्रेसको आन्तरिक अवस्था प्रष्ट पार्दा गगन थापा, विश्वप्रकाश जस्ता नेताहरु समेत निरिह बन्ने अवस्थामा छन । आफ्ना टिमका मानिएका मनिष झा, स्वर्णिम जस्ता नेता अर्को बाटो रोजेर चम्किदा थापाको ओझ निरन्तर घट्दो छ । भोलीका दिनमा न पार्टी न व्यक्तित्व रहने अवस्था पुग्ने खतरामा उनीहरु पर्दा सवै तिर संगठन विहिन अवस्थामा कांग्रेस पुगेको छ ।

समस्या थाहा हुने तर समाधान नखोज्ने यहि प्रवृत्तीकै कारण कांग्रेस प्रजापरिषदकै हालतमा पुग्ने टिप्पणी समेत वेला वखतमा हुने गरेको छ । जसमा पछिल्लो मतपरिणामले तरंग नै ल्याईदिदा आफैंतिर फर्केर निर्मम समीक्षा गर्दै वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी पार्टीलाई जन भावनाअनुसार नयाँ जीवन दिने गरी लाग्नुपर्ने दवाव पार्टीमा बढेको छ ।

कांग्रेसमा रुपान्तरणको विषय भने २०७४ साल मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा हेविवेटले भोगेको लज्जास्पद हारबाटै उठेको हो । जुन निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिटमा खुम्चेको कांग्रेसले संघीय सरकारविरुद्ध अविश्वासको प्रस्ताव राख्ने हैसियतसमेत गुमाएको थियो । पार्टीको भविष्य प्रति सवै नेता चिन्तित देखिने गरेपनि अहिलेसम्म संगठन सुधारका लागि ठोस प्रस्ताव कसैले पनि ल्याउन सकेका छैनन भने पहिलो र दोस्रो पुस्ताका नेतालाई खुइल्याउन सके पार्टीमा आफ्नो स्थान सुरक्षित हुनेतर्फ युवा सक्रिय हुँदा झनै काँग्रेस रसातलमा भासिदो क्रममा छ ।