काठमाडौँ — एसीसी प्रिमियर लिगको अन्तिम खेलमा कतारलाई हराउदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । टियु मैदानमा भएको खेलमा नेपाल ६८ रनले विजयी भएको हो । नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतार २५ दशमलब १ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो । नेपाली क्रिकेटले एकपछि अर्को सफलता हात पार्दै गइरहेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले हात पारेको सफलताले क्रिकेट प्रेमीमात्र नभएर देशबासीलाई समेत खुशी पार्दै आइरहेको छ । नेपाली टोलीले जति सफलता हात पारेको छ, त्यो सब आफ्नो परिश्रम र मिहिनेतको फल हो ।
नेपालको यो लय हेर्दा लाग्छ एक दिन नेपालले विश्वकप खेलमा नेपालको चन्द्रसूर्य अंकित झण्डा फहराउदै देशको नाम रोशन गर्ने दिन अब धैरै टाढा छैन । सफल्ताको खुट्किला टेक्ने क्रममा विहिबार त्रिवि क्रिकेट मैदानमा नेपालले आफ्नो जादुयी खुवी देखाए । कतारसंगको खेलमा सन्दीप लामिछानेको घातक बलिङ र उत्कृष्ट ब्याटिङको मद्दतले कतारलाई ६८ रनले पराजित ग¥यो । सन्दीपले पाँच विकेट लिएपछि कतार ८९ रनमा अलआउट हुन पुगेको हो ।
जीतसँगै नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर कतारले २५.१ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो । सन्दीपले ९.१ ओभर बलिङ गर्दै १४ रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीले तीन तथा ललित राजवंशीले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले नटआउट रहँदै सर्वाधिक ४२ रन बनाएको थियो । उनले ५८ बलमा ६ चौकाको मद्दतले सो रन बनाउन सफल भए ।
एकदिवसीय क्रिकेटमा सन्दीपले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर हो । नेपालले खेलमा खराब सुरुवात गरेको थियो । नेपालले ९ रनमा दुई विकेट गुमाएको थियो । दोस्रो ओभरमा कुशल भुर्तेल २ रन बनाएर आउट भए भने चौथो ओभरमा भीम सार्की ६ रन बनाएर आउट भए । दुवै विकेट गायान मुनाविराले लिएका थिए । १३ औँ ओभरमा ओपनर आसिफ शेख १९ रन बनाएर आउट भए । इकरामुल्लाह खानको बलिङमा उनी पनि क्याच आउट भए । खेलको १६ औँ ओभरमा कप्तान रोहित पौडेल २७ रन बनाएर आउट हुन पुगे ।
पाँचौ विकेटका रुपमा नेपालले कुशल मल्ललाई ३ रनमा गुमायो । त्यसपछि ११ रन बनाएर सोमपाल कामी पभिलियन फर्किए भने आरिफ शेख पनि समान रन बनाउँदै आउट भए । दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले पनि खासै कमाल देखाउन सकेको थिएन । अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ४६ रनको साझेदारी गरेपश्चात नेपाल सम्मानजनक योगफलसम्म पुग्यो । चार खेलमा तीन जित र एक खेलमा अंक बाडेको नेपाल समूह ए को शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको छ । शनिबार नेपालले समूह बी को उपविजेता कुबेतसँग भिडन्त गर्ने छ ।
प्रतिक्रिया