काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज बिहीबार १३ औँ चरणका खेल सुरू हुँदै छन् ।
बुधबार सम्पन्न १२औँ चरणको अन्तिम खेलमा जावलाखेल र सातदोबाटो युथ क्लब विजयी भएका छन् । बुधबारै भएको अर्को खेलमा थ्रीस्टार र मछिन्द्रले भने बराबरी गर्दै अंक बाँडेका छन् ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा थ्रीस्टार र मछिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा दुवै टोलीले गोलको अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। खेलको ६८औँ मिनेटमा थ्रीस्टारले गोल गरे पनि रेफ्रिले त्यसलाई मान्यता दिएनन् ।
सोही समयमा च्यासल मैदानमा भएको अर्को खेलमा सातदोबाटो युथ क्लबले संकटा क्लबलाई ४–० को फराकिलो अन्तरले हरायो । सातदोबाटोको जितमा विलियम ओकोपु र दीपकसिंह ठकुरीले समान दुई गोल गरे । खेलको पहिलो हाफमा २ गोल गरेको सातदोबाटोले दोस्रो हाफमा २ गोल थप्यो ।
१२औँ चरणको अन्तिम खेलमा भने रेलिगेसन क्षेत्रमा रहेको हिमालयन शेर्पाले शीर्ष स्थानको जावालखेल युथ क्लबलाई स्तब्ध पारेको छ । दशरथ रंगशालामा भएको खेलमा शेर्पाले जावलाखेललाई २-१ ले हराएको हो । जावलाखेलको जितमा दुवै गोल विदेशी खेलाडी पिस्तोने मुताम्बाले गरे । जावालखेलका लागि एन्कोटो मासोअबीले सान्त्वना गोल फर्काए ।
लिगको १२औँ चरण सकिँदा जावालखेल युथ क्लब २३ अंकका साथ शीर्ष स्थानमा यथावत् छ। जावालाखेलले सात खेलमा जित र ३ खेलमा हार भोग्दा दुई खेलमा बराबरीको नतिजा निकालेको छ ।
थ्रीस्टार क्लब भने ६ खेलमा जित, ४ मा बराबरी र २ खेलमा हार भोग्दै २२ अंकमा दोस्रो स्थानमा छ । ६ खेलमा जित, समान ३ खेलमा हार र बराबरीको नतिजा निकालेको सातदोबाटो युथ क्लब २१ अंकका साथ तेस्रो स्थानमा छ ।
१२औँ चरणमा चर्च ब्वाइजलाई १-० ले हराएको त्रिभुवन आर्मी क्लब १९ अंकका साथ चौथो स्थानमा छ । आर्मीले ५ खेलमा जित, चार खेलमा बराबरी र ३ खेलमा हार भोगेको छ ।
यो सिजन ‘ए’ डिभिजन लिगमा बढुवा भएको चर्च ब्वाइज युनाइटेड क्लबले ४ खेलमा जित, ६ खेलमा बराबरी र २ खेलमा हार भोग्दै १८ अंकका साथ पाँचौँ स्थानमा छ । ५ खेलमा जित, २ मा बराबरी र ५ खेलमा नै हार भोगेको एपीएफ फुटबल क्लब भने १७ अंकका साथ छैटौँ स्थानमा छ ।
साविक विजेता मछिन्द्र फुटबल क्लबले १२औँ चरणसम्मका खेल सकिँदा चार खेलमा मात्र जित हात पारेको छ । ५ खेलमा बराबरी र ३ खेलमा हार भोगेको मछिन्द्र १७ अंकमा सातौँ स्थानमा छ ।
४ खेलमा जित, ३ मा बराबरी र ५ खेलमा हार भोगेको मनाङ मर्स्याङ्दी क्लब भने १५ अंकमा आठौँ स्थानमा रहँदा संकटा क्लब भने नवौँ स्थानमा छ। संकटाले ४ खेलमा जित, ३ खेलमा बराबरी र ५ खेलमा हार भोगेको छ।
चार खेलमा जित, २ मा बराबरी र ६ खेलमा हार भोगेको फ्रेन्ड्स १४ अंकका साथ दसौँ स्थानमा छ । ३ खेलमा जित चार खेलमा बराबरी र ५ खेलमा हार भोगेको न्युरोड टिम एनआरटी १३ अंकका साथ ११औँ स्थानमा रहँदा नवप्रवेशी एफसी खुमलटार ४ खेलमा जित, १ खेलमा बराबरी र सात खेलमा हार भोग्दै १२औँ स्थानमा छ ।
लिगको १२औँ चरण सकिँदा हिमालयन शेर्पा क्लब र विभागीय नेपाल पुलिस क्लब भने रेलिगेसन क्षेत्र छाड्न संर्घषरत छन् । तीन खेलमा जित, चार खेलमा बराबरी र पाँच खेलमा हार भोगेको शेर्पा १३ अंकका साथ १३ र २ खेलमा जित, ३ खेलमा बराबरी र सात खेलमा हार भोगेको पुलिस क्लब ९ अंकका साथ तालिकाको पुछारमा छ ।
पुलिसले यो सिजन चार विदेशी खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ । रेलिगेसन जोन छाड्न संर्घष गरिरहेको पुलिस क्लबले विदेशी खेलाडी समावेश गरेपछि जितको स्वाद लिन पाएको छ ।
प्रतिक्रिया