Breaking

बारा-२ मा आफ्ना उम्मेदवारलाई हराउँदै विजयी उपेन्द्रलाई सीकेले दिए बधाई


काठमाडौँ – बारा २ बाट प्रतिनिधि सभा सदस्य पदमा विजयी जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बधाई दिएका छन् ।

यही वैशाख १० गते भएको उपनिर्वाचनमा यादव जनमतकै उम्मेदवार शिवचन्द्र कुशवाहालाई हराउँदै प्रतिनिधि सभाको सदस्य बन्न सफल भएका हुन् ।
यादव विजयी भएलगत्तै जनमतका अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन गरेका हुन् ।

‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई हार्दिक बधाई’, जनमत अध्यक्ष राउतले लेखेका छन्, ‘निर्वाचन हो, ३४ जना उम्मेदवारमध्ये एउटाले न जित्ने हो। अन्य पार्टीहरूले पनि लोकतन्त्रप्रति आफ्नो जिम्मेवारी सहृदयताका साथ वहन गरेको छ ।’

यस क्रममा राउतले आफ्ना उम्मेदवार हारे पनि जनमत पार्टीले पनि जनताको अगाध माया पाएको उल्लेख गरेका छन् । उनले अगाडि भनेका छन्, ‘जनमत पार्टीको तर्फबाट हामीलाई मतदान गर्नुहुने सम्पूर्ण कोटिकोटि प्रणाम तथा जनमत पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई धेरै धेरै धन्यवाद ।’