Breaking

रवि र स्वर्णिमको उदयले डरायो कांग्रेस, रास्ट्रपतिकै विरासत खोसियो, युवाले छोड्लान् कांग्रेस ?


काठमाडौँ — रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएसँगै उपचुनाव भएको तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले विरासत जोगाउन सकेन । चितवनका उम्मेदवार पनि ५ महिनामै निक्कै कम मतमा सिमित हुनुपर्यो ।बहालवाला प्रधानन्त्रीसहित ३ पूर्व प्रधानमन्त्री नै उपस्थित भएर भोट माग्दासमेत कांग्रेसले लज्जास्पद हार बेहोर्नुपर्यो । यो पटकको उपचुनावमा सत्ता साझेदार सबै राजनीतिक दलहरुको समर्थक पाउँदासमेत नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित हुन सकेनन् ।

उम्मेदवारले गएको मंसिरमा पाएको मतलाई समेत जोगाउन सकेनन् ।मत गणना नसकिँदै तनहुँका उम्मेदवार गोविन्द भट्टराई र चितवनका उम्मेदवार जितनारायण श्रेष्ठले हार स्वीकार गर्दै यो पटकको उपचुनाव व्यक्तिगत कारणले भन्दा पनि पुराना राजनीतिक दलप्रतिको वितिष्णको रुपमा बुझेका छन । ठूला राजनीतिक दलले आफू सच्चिएर जनताका मुद्दा सम्बोधन गर्न नसकेकै कारण यो पटक हार बेहोर्नुपरेको चितवन २ का कांग्रेस उम्मेदवार श्रेष्ठको स्वीकारोक्ति छ ।

यो पटक नेपाली कांग्रेसले स्वर्णिम वाग्ले गुमाएको चोट ताजै रहँदा तनहुँको विरासतसमेत जोगाउन सकेन । पार्टीभित्रको विसंगती सुधार्न नसक्ने उद्घोषसहित कांग्रेस छाडेका वाग्लेको जीतलाई तनहुँका कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले पनि सहर्ष स्वीकार गर्दै आफू र आफ्नो पार्टी नेपाली कांग्रेसले जनताको मन जित्न नसकेको भनेका छन् ।

मंसिरमा भएको चुनावमा तनहुँमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल २५ हजार ३ सय १३ मतसहित विजयी भएकोमा यो पटक कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले त्यो मतलाई पनि जोगाउन सकेन, २० हजार १ सय २२ मतमै सिमित हुनुपर्यो । चितवनमा यसअघि उमेश श्रेष्ठले १५ हजार९९ मत ल्याएकोमा त्यो मतलाई पनि जोगाउन सकेन र अहिले कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ ११ हजार २ सय १४ मतमा खुम्चिनुपर्यो ।

यो पटकको हारलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको स्वीकार गरेका छन् । तर जनमत घट्नुको अर्को कारण उपनिर्वाचनको क्रममा पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा संगठित आक्रमण गरिएको बहाना बनाउन देउवा पछि परेका छैनन् ।

यो पटकको चुनावमा कांग्रेसले उम्मेदवार जिताउन दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासमेतलाई फिल्डमा खटायो । यतिले नपुगेर बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित ३ पूर्वप्रधानमन्त्री निर्वाचन क्षेत्रमा पुगेर भोट माग्न भ्याए, जिताएर पठाए आफूहरुले मन्त्री बनाएर पठाउने वचनसमेत दिए ।

तर, न त गगन–विश्वप्रकाशको सक्रियताले काम गर्यो, न त बहालवाला र पूर्वप्रधानमन्त्रीको मन्त्री बनाएर पठाउने वचनले नै चुनाव जित्न सफल भयो । पार्टीभित्रको गुटकै कारण मन्त्रीसमेत छान्न नसकेको र महाधिवेशन गरेको डेढ वर्ष वित्दापनि नीति महाधिवेशन समेत गर्न नसकेको कांग्रेसले थप झस्किएको छ । अहिले नेपाली कांग्रेससँग मात्रै २ वटा विकल्प छन्, यसैगरि सक्किने या सच्चिएर अघि बढ्ने ?