Breaking

ओलीलाई सकस, शंकर र विष्णुको टकराव, भीम रावलको वार्ता, पूर्व माओवादी असन्तुष्ट


काठमाडौँ — अंकगणितका आधारमा दोस्रो ठुलो शक्ति भएर पनि नेकपा एमाले केन्द्र हुँदै प्रदेशमा समेत प्रतिपक्ष बन्ने क्रम जारी छ । प्रचण्डले समिकरण फेरेपछि केन्द्रमा सत्ताच्यूत बनेको एमालेले विश्वासको मत नपाएपछि प्रदेशमा कोशी प्रदेशबाहेक सबै प्रदेशमा प्रतिपक्षमा थन्किन बाध्य छन । गुमेको सत्ता र पार्टीभित्रको बढ्दो आन्तरिक द्धन्दले एमाले अध्यक्ष ओली थप सकसमा छन । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको मन बाउडिएपछि भित्तामा पुगेको एमाले, प्रचण्डको मन पग्लिएपछि सत्तामा पुगे ।

संसदीय निर्वाचनपछि शसक्त प्रतिपक्ष बन्ने हुँकार गरे पनि पुष १० मा प्रचण्डको इशारामा सत्तारुढ दल बने । प्रधानमन्त्री बन्न ओलीसँग पग्लिएको प्रचण्डको मन प्रधानमन्त्री बने लगत्तै देउवातिर ढल्कियो । प्रचण्डले एमाले छोडेर पुरानो गठबन्धन व्युँत्याएपछि ओली एकाएक प्रतिपक्ष बने । केन्द्रमा प्रतिपक्ष कित्तामा रहे पनि अंक गणितको जोडवलमा प्रदेश सरकारमा ढिपि कसेर बसेको एमाले क्रमश विश्वासको मत नपाएपछि प्रदेशमा पनि प्रतिपक्ष कित्तामा पुग्न बाध्य छन ।

प्रदेशमा एमालेको सरकार कोशीमा सिमित बनेको छ । उप निर्वाचनमा विकल्पको खोजी मतदाताले गरे पनि एमालेले यो चुनावलाई खासै प्राथमिकता दिएको देखिएन । जनमत युवाको पक्षमा रहे पनि एमाले पार्टीभित्र जनमत नभएका एकिकृत समाजवादी पार्टीका केहि थान नेता भित्¥याएकोमा ठुलो जित मनाउनु पर्ने अवस्थामा छ । जनमत भएका नेताहरुलाई उपेक्षा गर्दा जनमतको जोहो गर्न एमाले असक्षम बनिरहेको छ ।

अर्कोतर्फ पहिलो तहमा नेताहरुबीच टकराव नभएपनि दोस्रो तहमा टकराव बढ्दो छ । महाधिवेशनदेखि नै पार्टीभित्र विद्रोही प्रतिपक्षीको रुपमा उभिएको भीम रावलसँगको टशल अझै सुल्झाउन सकिरहेको छैन । रामबहादुर थापा बादल, लेखराज भट्टलगायत पूर्व माओवादी धारका नेताहरुमा असन्तुष्टी बढ्दो छ । दोस्रो तहका नेताहरु आफुहरुबीच मनमुटाव नभएको भन्दै सार्वजनिक मञ्चमै स्पष्टीकरण दिन बाध्य छन । चुनावमा एकल बहुमतको हुँकार गरे पनि जनमतले नेकपा एमाले दोस्रो दलमा थच्चिन प¥यो । संगठन सुदृढिकरणकै लागि महिनौं मिसन ग्रासरुट चलाए पनि उप–निर्वाचनमा पार्टीको सक्रियता र चुनावी नतिजाले समेत असफल बनेको संकेत गरायो ।

तर एमाले नेतृत्व अझै पनि बहुमत र एमाले पहिलो दल बन्ने हठको हुँकार दिन छाडेको छैन । मन माझ माझ गर्ने, पार्टीभित्रको गतिरोध हटाउँदै पार्टीलाई मजबुद र एक ढिक्का बनाउने, चुनावमा पाएको लोकप्रियताको पहिलो स्थानलाई संसदीय अंकगणिमा उतार्नकै लागि मिसन ग्रासरुट उहि देखाउने दाँत जस्तो बनेको प्रष्ट छ । ग्रासरुटले नेताहरुभित्र देखिएको विचलनमा मलम लगाएको जस्तो देखिन्न । तर एमाले नेतृत्व यहि कमजोर धरातलमा अर्को चुनावमा बहुमत ल्याउने सपना बाँड्दै हिडेको छन् । सकसमा रहेका ओली र एमालेजन यता प्रचण्ड र माधव समाजवादी मोर्चा नै बनाएर छुट्टै कम्युनिष्ट मोर्चा बनाउने तयारीले पनि त्रासमा छन ।