Breaking

रवि सदनमा, उदाए स्वर्णिम, चिन्तामा देउवा, ओलीको एमाले तेस्रो, राजावादी निल


काठमाडौँ — आईतबार सम्पन्न उप–निर्वाचन अन्तर्गत बारा दुई बाहेक अरु दुईवटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भईसकेको छ । दुई स्थानमा रास्वपाले जित निकाल्दा बारामा जसपा अध्यक्ष उपेन्द्र यादव अगाडि छन । आम निर्वाचनमा राम्रो जनमत पाएका पुराना र ठुला दलहरुले उप निर्वाचनमा भने आफ्नो मत समेत जोगाउन सकेनन् ।

मंसिर चारको संसदीय निर्वाचनमा तनहुँ १ मा प्रत्यक्षतर्फ ६ हजार मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उप–निर्वाचनमा ३४ हजार ९ सय १९ मत प्राप्त गरे । रातरात कांग्रेसबाट अलग्गिएर रास्वपा रोजेका डाक्टर स्वर्णिम वाग्लेले कांग्रेसका गोविन्द भट्टराईलाई १५ हजार मतान्तरले पछाडि पार्दै चुनाव जिते । राष्ट्रपति रामचन्द्र पौडेलेलाई २५ हजार बढी मत सहित निर्वाचित गराएर पठाएको तनहुँले यो पटक कांग्रेसका उम्मेदवार भट्टराईलाई २० हजार १ सय २२ मत मात्रै दियो ।

गठबन्धनको साथ पाएका भट्टराईले मत भने पाएन्न । मंसिर चारको चुनावमा झन्डै २० हजारको हाराहारीमा मत प्राप्त गरेको नेकपा एमालेका उम्मेदवारले तनहुँ एकमा उपनिर्वाचनमा जम्मा ८ हजार मत मात्रै पाए । एमालेका उम्मेदवार सवेन्द्र खनालले ८ हजार ४ सय ८८ मतमा चित्त बुझाउनुपर्यो । चितवन दुईमा रास्वपा सभापति रवि लामिछाने ६ महिनाभित्रै दोस्रो पटक जनताबाट अनुमोदित भएका छन । मंसिर ४ मा ४९ हजार मत प्राप्त गरेको लामिछानेले उपनिर्वाचनमा ५४ हजार १ सय ७६ मत सहित दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

चुनाव जित्ने आँकलन गरिए पनि मतान्तर घट्न सक्ने विश्लेषणका बीच लामिछानेले आफ्नै रेकर्ड ब्रेक गर्दै ४३ हजार २५ मतान्तरसहित चुनाव जितेका हु्न । मंसिर चारको चुनावमा कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ प्राप्त गरेको क्षेत्रमा उप निर्वाचनमा कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत प्राप्त गरे । एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ मत पाएका छन । यसअघिको चुनावमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ५२ मत ल्याएका थिए । गत निर्वाचनमा सप्तरी २ बाट नमिठो हार व्यहोरेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई भने बारा दुई फापेको छ ।

गठबन्धनले यादवलाई उम्मेदवार बनाएपछि चुनाव जित्ने लक्ष्य सहित सिके राउत नेतृत्वको जनमत पार्टी रोजेर चुनावी मैदानमा होमिएका शिवचन्द्र कुशवाहले यादवलाई पछ्याईरहेका छन । मंसिर चारको चुनावमा थोरै मतान्तरले मात्र चुनाव हारेका कुशवाहा कडा प्रतिस्पर्धिको रुपमा हेरिएको थियो । बारा दुईमा मतगणना चल्दै गर्दा भारी मतान्तरले अगाडि देखिएकाले यादवले चुनाव जित्ने विश्लेषण छ । वैशाख १० को उप निर्वाचनमा पुराना र ठुला भनिएका दलहरुले आफ्नो यसअघिको मत नै जोगाउन सकेन्न ।

आम निर्वाचनबाट उदाएको राप्रपा पनि उप–निर्वाचनमा कन्तविजोग हुन पुगेको छ । तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको राप्रपाका उम्मेदवारले पाँच सय मत पनि कटाउन सकेनन् । जमानत नै जफत भएको छ । उपनिर्वाचन मार्फत रास्वपाले एक जना सांसद संख्या बढाउँदा संसदकै ठुलो दल कांग्रेसले भने एक सिट गुमाएको छ । पार्टी सुदृढिकरणका लागि भर्खरै मिसन ग्रासरुट अभियान नै चलाएको एमालेले आफ्नो पुरानो मत त जोगाएनन् नै सबै ठाउँमा तेस्रोमा चित्त बुझाउन बाध्य भयो । यसले ठुला राजनीतिक दल र शीर्ष नेतृत्वलाई नमिठो झापट हानेको त छ नै ,जनमतले दलहरुलाई सच्चिने समिक्षा गर्ने मौकासमेत दिएको छ ।