Breaking

सुडानमा ७२ घण्टाको युद्ध विराम, अहिलेसम्म ४१३ जनाको मृत्यु


काठमाडौँ – सुडानमा सेना र अर्धसैनिक बल र्‌यापिड सपोर्ट फोर्स युद्ध विराम गर्न सहमत भएका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले यसबारे जानकारी दिएका हुन् । सोमबार मध्यरातबाट युद्ध विराम गर्न दुवै पक्ष सहमत भएका छन् । दुवै पक्षले आ–आफ्ना तर्फबाट युद्ध विरामको घोषणा गरेका छन् ।

सेना र र्‌यापिड फोर्सबीच ४८ घण्टाको वार्तापछि युद्ध विराममा सहमति भएको ब्लिन्केनले बताएका छन् । सुडानमा यी दुईबीचको द्वन्द्वमा हालसम्म ४१३ जनाको मृत्यु भइसकेको छ । गत अप्रिल १५ मा दुबैबीच झडप सुरु भई सशस्त्र द्वन्द्वमा परिणत भएको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुडानमा थप हिंसा बढे यो आगोले पूरा इलाकालाई आफ्नो चपोमा लिने चेतावनी दिएका थिए । आगोको ज्वाला बाहिर पनि फैलने उनले बताए ।

द्वन्द्व सुरु भए लगत्तै राजधानी खार्तुमबाट द्वन्द्व प्रभावित क्षेत्रमा मानिसहरूलाई घरभित्रै बस्न भनिएको थियो । त्यहाँ अहिले खाद्यान्न र पानीको आपूर्ति ह्वात्तै घटेको छ ।