Breaking

चितवन- २ मा रवि लामिछानेको जित निश्चित


काठमाडौँ – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जित निश्चित भएको छ ।

यो खबर लेख्दासम्म ५६ हजार ४ सय ९६ मत गणना भइसकेको छ भने लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । चितवन-२ मा आइतबार भएको उपनिर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो । अब २१ हजार ७८१ मत मात्र गन्न बाँकी छ ।

तर लामिछानेले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठसँग मतान्तर ३२ हजार ६१२ बनाइसकेका छन् अर्थात् गन्न बाँकी मतभन्दा मतान्तर बढी भइसकेको छ ।

यस हिसाबले रास्वपा सभापति लामिछानको जित पक्का भइसकेको छ । श्रेष्ठले अहिलेसम्म ७ हजार ४ सय ५७ मत ल्याएका छन् भने नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २ सय ६८ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ । हालसम्म ८ सय ७० मत बदर भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कालिका नगरपालिकाको मतगणना सुरू भएको छ ।