Breaking

गोविन्दले स्वर्णिम वाग्लेलाई दिए बधाई, भने- मेरो रचनात्मक सहयोग रहनेछ


काठमाडौँ – तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेलाई उनका निकटतम प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन् ।

वाग्ले ३४ हजार ४ सय ८० मत ल्याएर सांसद निर्वाचित हुँदा भट्टराईले २० हजार ९२ मत मात्र ल्याउन सके । प्रतिनिधिसभा सदस्य हुन सफल भएकामा वाग्लेलाई भट्टराईले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

सामाजिक सञ्जालमार्फत अब जनताले आफूप्रति राखेका अपेक्षा पनि विजयी वाग्लेको अभिभारा भएको भट्टराईले उल्लेख गरेका छन् । तर त्यस क्षेत्रको विकासे अभियन्ताका रूपमा निरन्तर खटिरहने प्रतिबद्धता पनि भट्टराईले व्यक्त गरेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘अनि तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ ।’