काठमाडौँ — सुडानमा सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोसेज (आरएसएफ) बीचको भिडन्त थप चर्किएको छ । यी दुईबीचको भीषण सङ्घर्षका बीच थुप्रै देशले यहाँबाट आफ्ना कूटनीतिज्ञलाई निकाल्न थालेका छन् । विश्व मानव समाजको इतिहासमा सैन्य विप्लव सामान्य परिघटना जस्तो भइसकेको छ । यो इतिहास सिद्ध तथ्य हो । भर्खरै सुडानमा यस्तै सैन्य विप्लव भएको छ । यसले त्यहाँका राष्ट्रपति ओमर अल वसिरको तीस वर्षे शासन समाप्त गरिदिएको छ । उनी सन् १९८९ मा सैन्य विद्रोहमार्फत नै सत्तासिन भएका थिए ।
सुडानमा वसिरको आगमन हुनुभन्दा अघिदेखि नै दक्षिणका अफ्रिकी र उत्तरका अरबी समुदायबीच अन्तरर्विरोध थियो । १९८३ देखि २००५ सम्म भएको गृहयुद्धलाई अफ्रिकाको सबैभन्दा लामो गुहयुद्धको रूपमा लिइन्छ । सन् २००५ मा भएको बृहत् शान्ति सम्झौता अनुरूप ६ वर्षपछि जनमत संग्रह गर्ने शर्तसहित दक्षिण सुडानलाई स्वायत्तता प्रदान गरियो । सम्झौता अनुसार २०११ मा जनमत संग्रह भएको थियो । यसमा झण्डै शतप्रतिशत जनताले छुट्टै स्वतन्त्र राज्यको पक्षमा मतदान गरेका थिए ।
जसले नयाँ दक्षिण सुडानको जन्म गरायो । पछिल्लो समय सुडानको सैन्य समूहबीचको आपसी द्वन्द्व अहिले देशभर फैलिएको छ । सङ्घर्षको केन्द्रबिन्दु खार्तुम सहरका सडकहरू सुनसान देखिएको छ । दुवै समूहले त्यहाँका मुख्य सडक अवरुद्ध गरेका छन् । द्वन्द्वमा हालसम्म २६४ सर्वसाधारणसहित ४ सय भन्दा माथीको ज्यान गएको छ भना ३ हजार बढी घाइते छन् ।
आइतबार आरएसएफले राजधानी खार्तुम र छिमेकी सहर ओमदुरमानका साथै पश्चिममा दारफुर र मिरोए एयरपोर्टको नियन्त्रण गरेको छ । द्वन्द्व स्थलबाट घाइतेलाई हटाउन आइतबार दुवै समूहले केही समयका लागि युद्ध विरामको घोषणा गरेका थिए । तर त्यसको कडाइका साथ पालना हुन सकेको छैन । सुडानमा यो सङ्घर्ष प्रतिद्वन्द्वी गुटको राजनीतिक वर्चस्व कायम राख्नुको परिणाम हो । देशको सैन्य नेतृत्व भित्रको सर्वोच्चताको लडाईंले द्वन्द्वलाई जटिल बनाएको छ ।
यी दुईबीचको भीषण सङ्घर्षका बीच थुप्रै देशले यहाँबाट आफ्ना कूटनीतिज्ञलाई निकाल्न थालेको छ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले ट्विट गर्दै देशको सशस्त्र सेनाले सुडानबाट बेलायती कूटनीतिज्ञ र उनका परिवारका सदस्यलाई निकालेको जानकारी दिए । साउदी अरेबियाले आफ्ना १५७ जनालाई त्यहाँबाट निकालेको छ । अमेरिका र बेलायतले खार्तुमबाट आफ्ना कूटनीतिज्ञलाई विमानमार्फत उद्धार गरेको छ ।
फ्रान्स, जर्मनी, इटाली, भेनेजुएला र क्यानडाले आफ्ना नागरिकलाई बाहिर निकालेको पुष्टि गरेको छ । यद्यपि सुडानी नागरिक पनि देशभित्र सुरक्षित स्थानको खोजीमा छ । धेरै मानिस ज्यान जोखिममा पारेर खतरनाक सडक पार गरेर इजिप्ट गइरहेको छ । सुडानको युद्ध सोमबार दसौँ दिनमा प्रवेश गरेको छ तर झडपमा संलग्न दुई पक्षबीच समाधानको कुनै सङ्केत देखिएको छैन ।
प्रतिक्रिया