काठमाडौँ – पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेको तीन दशक पूरा भएको छ । २०५० साल वैशाख १० गते शेर्पाले सगरमाथा आरोहण गरेकी थिइन् । ऐतिहासिक सफल आरोहण गरेर फर्किदै गर्दा उनको निधन भएको थियो । सरकारले शेर्पालाई राष्ट्रिय विभूति घोषणा गरेको छ । प्रत्येक वर्ष शेर्पाको स्मृतिमा विभिन्न कार्यक्रम गरिँदै आएको छ ।
कीर्तिमानी आरोही, राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको ३० वर्ष पूरा भएको छ । २०५० साल वैशाख १० गते सगरमाथाको शिरमा पाइला टेकेर फर्किँदै गर्दा सोही दिन शेर्पाको निधन भएको थियो । उनको योगदानको कदर गर्दै सरकारले राष्ट्रिय विभूति घोषणा गरेको छ । सरकारी स्तरबाट स्मृति दिवसमा कुनै कार्यक्रम नभए पनि निजी क्षेत्रबाट विभिन्न कार्यक्रम गरिँदै आएको छ । विगतमा जस्तै यस वर्ष पनि चाबहिल चुच्चेपाटीस्थित पासाङ ल्हामु स्मारकमा कार्यक्रम गरेर शेर्पाको योगदानको स्मरण गरिएको छ ।
राष्ट्रिय विभूतिको स्मृति दिवसमा राज्य भने बेखबर रहँदै आएको छ । पासाङ ल्हामु, शेर्पा समुदायको मात्र नभएर सिंगो नेपाल र विश्वको प्रेरणाको स्रोत हुन् । उनको योगदानलाई कसैले पनि भूल्न सक्दैन । पूर्वमन्त्री कृपाशुर शेर्पा राज्यले दिनुपर्ने सम्मान दिइसकेको दाबी गर्छन । २०१८ सालमा सोलुखुम्बुको चौरीखर्क सुर्केमा जन्मिएकी शेर्पाको साहसिक कामको सम्मान गर्दै नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गरेर नेपाल तारा अलंकारले विभूषित गरेको थियो । शेर्पाको पूर्णकदको शालिक निर्माण र फोटो सहितको हुलाक टिकटसमेत प्रचलनमा ल्याएको छ ।
जुन समय नेपाली महिला घरधन्दामै सीमित थिए, त्यही बेला शेर्पाले सर्वोच्च शिखरमा पाइला टेकेर शाहसी नेपाली महिलाको पहिचान विश्वभर फैलाउन सफल भइन । तीन सन्तानकी आमा पासाङ ल्हामुले परम्परागत समाजलाई चुनौती दिँदै विश्वको सर्वोच्च शिखर चुम्ने आँट गरेकी थिइन । पासाङ ल्हामुको आरोहण दलकी सदस्य ल्हाक्पाफुटी शेर्पा उनको साहस र दृढताको खुलेर प्रशंसा गर्छिन ।
पासाङ ल्हामुले अहिलेका पुस्तालाई आरोहण र आँटिलो बन्न दिशानिर्देश गरेको महिला पर्यटन उद्यमीहरू बताउँछन । पासाङ ल्हामु शेर्पाको साहस र त्याग नेपालका लागि मात्र नभई समग्र आरोहण क्षेत्रका लागि महत्वपूर्ण बनेको छ । शेर्पाको त्यो साहस अहिले धेरैका लागि पे्ररणा बनेको छ । उनको आँटको मुक्तकण्ठले प्रशंशा गर्नेहरूको कमी छैन ।
तीन दशकको बीचमा मुलुकको पर्यटन क्षेत्रको महत्वपूर्ण आधार हिमाल आरोहण बनेको छ । हिमाल आरोहण अहिले निकै परिस्कृति पनि भएको छ । पछिल्लो पुस्तामा आरोहणप्रतिको मोह बढ्दै गएको देखिन्छ । यद्यपि, राज्यले अझै पनि पर्याप्त ध्यान दिन सकेको छैन । न त नेपालमा उपलब्ध हिमालहरूको आरोहणमा प्रचारप्रसार पर्याप्त भएको छ । न त आरोहण पेशालाई सु–व्यवस्थित नै बनाउन सकिएको छ । यसतर्फ सरोकारवाला सबै पक्षको ध्यान पुग्न जरुरी छ ।
प्रतिक्रिया