Breaking

बारा २ मा बुथ कब्जा गर्ने प्रयास भइरहेको सीके राउतको दाबी


काठमाडौँ – जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा २ का केही मतदान केन्द्रमा आफ्नो दलका प्रतिनिधिहरूलाई प्रवेश गर्न नदिइएको आरोप लगाएका छन् ।

अध्यक्ष राउतले पचरौता नगरपालिकाको बेलडाडी र देवतालको झिगैया मतदना केन्द्रमा जनमतका प्रतिनिधिहरूलाई प्रवेश गर्न नदिएको आरोप लगाएका हुन् ।

यसबाट प्रहरी–प्रशासनकै संलग्नतामा यी दुई मतदान केन्द्र कब्जा गरिएको आशंका आफूलाई लागिरहेको राउतले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा दाबी गरे ।

‘आफूहरूले हिजोदेखि नै बुथ कब्जा हुने पहिले नै जानकारी गराएको थिएँ’, राउतले भने, ‘तर प्रहरी–प्रशासनकै संलग्नतामा बुथ कब्जा गर्ने प्रयास भइरहेको छ ।’

तर स्थानीय प्रशासनले भने राउतले भनेजस्तो कुनै पनि मतदान केन्द्रमा बुथ कब्जाको अवस्था नरहेको जनाएको छ । बारा–२ मा जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेललगायत ३४ उम्मेदवार प्रतिस्पर्धामा छन् ।