Breaking

देउवालाई प्रधानमन्त्री बनाउन ओली सक्रिय, माधवको आपत्ति, कम्युनिष्टविरुद्ध कम्युनिष्ट, ७५ बर्षमा ७५ फुट


काठमाडौँ — नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको ७४ बर्ष पुरा भएको छ । २००६ सालमा पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र नरबहादुर कर्मचार्य मिलेर नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । तर ७४ वर्ष पुरानो इतिहास बोकेको कम्युनिष्ट पार्टी अहिले धेरै टुक्रामा विभाजित भएको छ ।बेलाबखत जुट्ने चर्चा चलेपनि कम्युनिष्टहरु जुटभन्दा फुटमा किन केन्द्रीत छन् ? । पछिल्लोपटक पुस १० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मिले ।

दुई ठूला कम्युनिष्ट पार्टीका नेता मिल्दा सरकारको नेतृत्व पनि कम्युनिष्टको हातमा आयो, गठबन्धनको नेतृत्व पनि कम्यूनिष्ट पार्टीले ग¥यो । तर फागुन १२ मा ओली–प्रचण्ड छुट्टिए । दुई ठूला कम्युनिष्ट शक्तिबीच कुरा बाझिन थालेपछि त्यसको फाईदा कांग्रेसले लियो, कांग्रेसकै नेतृत्वमा पुरानो गठबन्धन ब्युँतियो । अहिले ओली सत्ताको सबथोकबाट हात धोएर बस्नुपरेको अवस्थामा छन् ।

प्रचण्ड झण्डै डेढ बर्षअघि एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी लगायत केही साना टुक्रा बोकेर मोर्चाबन्दी गर्दै काँग्रेससँग हात फिजाउँनुपर्ने अवस्थामा छन् । विछोड दुवैको बेफाइदामा छ । तर पनि ओलीविरुद्ध प्रचण्ड छन् । माओवादीविरुद्ध एमाले छ । कम्युनिष्ट पार्टीहरुबीचकै द्वन्द्वले काँग्रेस फाइदामा छ ।

यसअघि पनि २०७४ मा मिल्दा झण्डै दुई तिहाईसहित सरकारको नेतृत्वमा आएका ओली–प्रचण्डआन्तरिक द्धन्दका कारण तीनबर्षपछि फरक बाटोतिर लागेका हुन् । ओलीविरुद्ध मोर्चा कसेका प्रचण्ड–माधव किस्तीमा प्रधानमन्त्री बोकेर काँग्रेस सभापति देउवाको दैलोमा पुगेपछि वाम नेतृत्वको सरकार ढलेको थियो । त्यसयता स्वार्थले जोडेपनि दुईमहिनामै छुट्टिएका कम्युनिष्टहरु अब लगभग एकता नहुने अवस्थामा छन् ।

किनकि उनीहरु अब विचार, सिद्धान्त र एजेन्डाका आधारमा मिल्न छाडिसके । अकास्मात, आपतकालिन सत्ता स्वार्थमा भने उनीहरुबीचको मिलनहराएको छैन । प्रचण्ड,माधव–उपेन्द्र र माओवाद छोडेका बाबुरामलाई बोकेर फेरि पनि एकतासहितको समाजवादी मोर्चाको नेतृत्व गर्ने तयारीमा छन् । जुन एमाले अध्यक्ष ओलीरहितको बनाउन उनीहरु सक्रिय छन् ।वामहरुबीचकै टकरावले स्थापनाको ७५ बर्ष पुग्दा पनि कम्युनिष्ट आन्दोलन टुक्राटुक्रामा विभाजित बनेको छ ।

कम्युनिष्ट विभाजनको शिलशिला अहिले आएर व्यापक बनेको मात्रै हो । पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवीले २००६ सालमा स्थापना गरेको पार्टी दुई बर्षमै त्यतिबेलै विभाजनमा गएको थियो ।स्थापनाको दुई वर्षपछि २००८ सालमा पुष्पलाललाई महासचिवबाट हटाउँदा उनले पार्टीभित्रै संघर्षको बाटो रोजेका थिए। पुष्पलालको गणतन्त्र र मनमोहनको संवैधानिक राजतन्त्रको लाइनले पार्टीमा फुटको बीउ रोपिएको थियो।

अहिले पनि एकथरी बयलगाँडाकै धङगधङगीमा छन् भने अर्काेथरी समाजवादलाई कमाई खाने भाँडो बनाउन खोज्दैछन् । पाँच जनाबाट शुरु भएको पार्टी फुटेर पचास टुक्रा भएको छ । ७५ बर्षे इतिहासमा झण्डै ७५ पटक नै विभाजन भएको छ । त्यो क्रम अहिलेसम्म रोकिएको छैन ।ओली, प्रचण्ड, माधव, झलनाथ र उपेन्द्र जस्ता संसदवादी पनि कम्युनिष्ट छन्, वैद्य, विप्लव रगजुरेल जस्ता संसदबाहिर बसेर भत्काउन खोज्नेपनि कम्युनिष्ट छन् ।स्थापना दिवस विगतलाई सम्झिएर मुख मिठ्याउनुभन्दा परको उपलब्धी बनेको छैन ।

अहिले उनीहरुका लागि जुट्ने र टुट्ने कुरा सामान्य भएका छन् । बुढो हुँदासम्म पनि युवाका लागि ठाउँ छाड्न तयार छैनन् । पुस्तान्तरणको अहिलेसम्मको इतिहास हेर्दा एकाध पार्टीलाई छोडेर आम कम्युनिष्ट पार्टीमा एउटै नेतृत्व दशकौंदेखि कायम छ ।मसालका मोहनविक्रम सिंह र नेपाल मजदूर किसान पार्टीका नारायणमान बिजुक्छे ३० बर्षदेखि नेतृत्वमा छन् । नेकपा माओवादीका प्रचण्डत ३५ वर्षदेखि नेतृत्वमै छन् । मसाल, माओवादी र माओवादी केन्द्र हुँदै नेकपा र पुनः माओवादी केन्द्रसम्म आइपुग्दा पनि प्रचण्ड नेतृत्वमै छन् । १५ वर्ष पार्टीको एकछत्र नेतृत्व गरेका माधव नेपाललाई फेरि अध्यक्ष हुने रहर जागेपछि पार्टी फुटाएर नयाँ पार्टी बनाएका छन् ।

३० वर्षसम्म सक्रिय नेतृत्व हाँकेर पनि प्रचण्डमा लोभ, लालच र पदप्रतिको आशक्ति घटेको छैन, बरू झन् बढ्दो छ । उस्तै आशक्ति अहिले ओलीमा पनि पलाएको छ । उनी दुई कार्यकाल एमालेको अध्यक्ष छन् । फलतः स्थापनाको सात दशक पारगरिसक्दा कम्युनिष्टहरुमाथि गम्भीर प्रश्नहरु छन् ।

आखिर कम्युनिष्टहरु केका लागि फुटछन्? जनताको मुक्तिका नाममा स्थापना भएका उनीहहरुले कति मुक्त बनाए ? उनीहरुको फुट र जुटबाट जनता र मुलुकले के पायो ?आखिर कहिलेसम्म उनीहरुका फगत व्यक्तिगत महत्वाकांक्षा र सत्तास्वार्थका लागि जनताले साथ दिइराख्ने ? हाम्रा अगाडि अनेकौं प्रश्न छन् । तर उहीँ पुरानै पारा, अहिले पनि प्रचण्ड नेतृत्वको सरकार ढाल्न ओली कम्मर कसेर मैदानमा छन् । र काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् ।