Breaking

बालेन र हर्क तनावमा, काम गर्न कसले रोक्यो ? चर्चा र विवादमा नै सीमित


काठमाडौँ — पुराना प्रमुख राजनीतिक दलबाट परिवर्तन सम्भव नभएको र जनताको उत्थान हुन नसक्ने देखेर आम मतदाताले नयाँ अनुहार र स्वतन्त्रलाई स्थानीय सरकारको नेतृत्वमा पठाए । नयाँ र स्वतन्त्र व्यक्ति स्थानीय सरकारको नेतृत्वमा पुग्दा गाउँ–गाउँमा सिंहदरबारको आभाष हुन्छ कि भन्ने मतदातालाई लागेको थियो । तर मतदाताको आशा र जनताको विश्वास बोकेर पदमा पुगेकाहरु नै अहिले अनेक विवादमा मुछिन थालेका छन् । स्वतन्त्र उम्मेदवारी दिएर जितेर स्थानीय सरकारको नेतृत्वमा पुगेका केही जनप्रतिनिधि चर्चा, आलोचना र विवादमा फस्न थालेका छन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले चालेका अधिकांश कदमले चर्चा र विवाद सिवाय अरु केही पाएको छैन । चाहे त्यो फोहोर व्यवस्थापन होस् या सुकुम्बासी समस्याको समाधानमा उनले चालेका कदम चर्चाभन्दा बढी विवाद विवादित भइरहेको छ । टुकुचाको विषय अदालदसम्म पुग्यो । अन्डर ग्राउण्ड पार्किङ, फुटपाथ व्यवसायीको व्यवस्थपन त छदैँ थियो अहिले फेरि सिंहदरबारसँगको जोहरी बालेन चर्चासँगै विवादमा छन् ।

मेयर बनेको एक वर्ष हुँनै लाग्दा पनि उनले अनुहारमा अवीर र गलामा खादा माला लगाउन पाएका छैनन् । अहिलेकै परिस्थितिलाई हेर्दा अझै यो समय अझै लम्बिने देखिन्छ । किनभने फोहोर बिसर्जन गर्ने गाउँपालिकाहरु धुनिवेशी र ककनीले १५ दिनको अल्टिमेटम दिइसकेको छ । उनको १ वर्षे कार्यकाल चर्चा र विवादले नै सकिने देखिन्छ । चर्चा र विवाद दुबै खेपिरहेका अर्का जनप्रतिनिधि हुन् धरान उपमहानगरपालिकाका मेयर हर्कसाम्पाङ राई । दशकभन्दा लामो समयदेखि धरानमा सामाजिक अभियान चलाएका मेयर राईको एक वर्ष पनि चर्चा र विवादितमै सकिँदै छ ।

विशेषतः सामाजिक सञ्जालमा लेख्ने कारण विवादमा तानिने उनी कहिले दलितविरोधी अभिव्यक्ति त कहिले वडा अध्यक्षहरुसँगको टकरावले चर्चाको केन्द्रमा रहँदै आएका छन् । अहिले मेयर राईको उपमहानगर पालिकाका वडाध्यक्षहरुका विवाद उत्कर्षमा छ । राईले बिहीबार विज्ञप्ती जारी गर्दै वडाध्यक्षहरुको राजीनामा मागेपछि उनी फेरि विवादमा मुछिएका छन् । उनले कार्यापालिका बैठकमा नआउने, जनताको काम नगर्ने जस्ता कारण देखाउँदै घुमाउरो तरिकाले वडाध्यक्षको राजीनामा मागेका हुन् ।

मेयर राई जस्तै अरु वडाध्यक्ष पनि धराने जनताको भोट पाएरै वडाध्यक्ष बनेका हुन् । उनीहरुलाई कोही कसैले टीका लगाइदिएर वडाको नेतृत्वमा पुर्याएका होइनन् । वडाध्यक्षलाई बैठकमा उपस्थित गराउन चालिएको कदम राम्रै भए पनि यसरी राजीनामा नै माग्नु भने अनुचित रहेको विश्लेषकहरु बताउँछन् । आश गरिएका नयाँ र स्वतन्त्र अनुहारहरुसमेत चर्चा र विवादमा नै रुमल्लिनु भन्दा समन्वय गरेर अघि बढ्न विज्ञको सुझाव छ ।

स्वतन्त्र उम्मेदवारका रूपमा मेयर बनेका यी दुई पद सम्हालेदेखि नै ‘प्रशंसा र आलोचना’ को केन्द्रमा छन् । सुरुवाती चरणमा देशैभरबाट वाहवाही पाएका उनीहरुले अहिले भने विवादै विवादको सामना गरिरहनुपरेको छ । सामाजिक सञ्जालमा आएका प्रश्नको ओठे जवाफ फर्काउने कारणले पनि उनीहरु विवादको पर्याय जस्तै बनेका छन् । सुरुमा उनीहरुको बयान गरेर नथाक्नेहरु नै अहिले उनीहरुमथि प्रश्न तेस्र्याउन थालेका छन् ।