काठमााडौँ — क्रिकेट नेपालीका लागि खुशी हुने माध्यम बन्दै आएको खेल हो । सायद विश्वको खुशी हुने देशमा पर्ने नेपालका लागि क्रिकेटको पनि ठूलो योगदान छ । देशको राष्ट्रिय राजनीतिले निराश बन्ने नेपालीको आशा क्रिकेटले आज पनि ओमनलाई जितेर खुशी दिएको छ । नेपाली दुई युवा क्रिकेटरको कीर्तिमानीसँगै नेपालले ओमानमाथि ८४ रनको सानदार जित हात पारेको छ । एसिया कपका लागि प्रतिष्पर्धा गरिरहेको नेपालले शुक्रबार त्रिवि मैदानमा ओमानलाई पराजित गरेसँगै एसिया कप यात्राका लागि आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको हो । नेपालको जितमा पूर्व कप्तान तथा युवा लेग स्पीनर सन्दीप लामिछाने र १९ वर्षीय व्याटर अलराउण्डर कुशल मल्ल रहेका छन् ।
मल्लले ५९ बलमा शतक प्रहार गर्दै सबैभन्दा छिटो १०० रन बनाउनेको कीर्तिमान बनाउँदा सन्दीपले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो अर्थात् कम खेलमा १०० विकेट पुरा गर्ने बलर बनेका छन् । सन्दीपले अफगानी बलर रासिद खानको ४४ खेलमा १०० विकेट लिने कीर्तिमानलाई तोड्दै ४२ खेलमा १०० विकेट पुरा गरेका हुन् । नेपालले प्रस्तुत गरेको तीन सय ११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा दुई सय २६ रनमै समेटियो ।
ओमानका लागि मोहम्मद नदिमले ८५ बलमा ७ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ६५ रन बनाए । यसैगरी सन्दीप गौडले ४६, आयन खानले २९, काश्यप प्रजापतीले २५, फैयज बटले १९, जतिन्दर सिंहले १६ र आदिल सफिकले १३ रन जोडे । छैटौं विकेटका लागि नदिम र गौडले ९६ रनको साझेदारी गरेका थिए । नेपालका लागि सन्दीप लामिछानले ३ करण केसीले समान ३, सोमपाल कामीले दुई र ललितनारायण राजवंशीले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै हालसम्मकै उच्च योगफल तीन सय १० रनको बनाएको थियो ।
खराब सुरुवात गरेको नेपालले ओपनर आसिफ शेख र कुशल भुर्तेललाई शुन्यमा नै गुमाएको थियो । त्यसपछि सम्हालिएको प्रदर्शन गरेको नेपालका लागि कुशल माल्लले ६४ बलमा १० छक्का र ९ चौकाको मद्दतमा एक सय ८ रन बनाए । यसैगरी सोमपाल कामीले ४८ बलमा ९ चौकाको मद्दतमा अविजित ६३, भिम सार्किले ३३, करण केसीले अविजित २९, आरिफ शेखले २९ र कप्तान रोहितकुमार पौडेलले २३ रन जोडे । कुशलले पाँचौं विकेटका लागि आरिफसँग ७५ तथा आठौं विकेटका लागि सोमपालसँग ४९ रनको साझेदारी गरेका थिए ।
यसैगरी सोमपाल र करणले नवौं विकेटका लागि अविजित ६१ तथा तेस्रो विकेटका लागि भिम र रोहितले ५२ रनको साझेदारी गरेका थिए । ओमानका लागि आयन खानले २ तथा बिलाल खान, कालिमुल्लाह, कप्तान जिसन मक्सुद, फैयज बट, अकिब इलियस र जतिन्दर सिंहले समान १ विकेट लिए । यो जितसँगै २ खेलमा ४ अंक जोडेको नेपालको समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनेको छ । पहिलो पराजय ब्यहोरेको ओमानको समान खेलबाट २ अंक छ । पहिलो खेलमा नेपालले मलेसिया तथा ओमानले कतारलाई हराएका थिए । अब नेपालले आफ्नो तेस्रो खेल वैशाख ११ गते सोमबार साउदी अरेबियासँग खेल्नेछ ।
प्रतिक्रिया