Breaking

प्रचण्ड–देउवाको ‘लभ’ चक्कर, सत्ता गुमाउने छटपटी, सरकारका काममा चुकुल, रविको निर्णयमा काजीको एक्सन


काठमााडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपनिर्वाचनका तीनै क्षेत्रमा पुगेर भाषण गरे । आचारसंहिता नाघेरै बोलेका उनले धेरै प्रलोभन र आश्वासन समेत बाँडे । तर सत्ता गुमाउने डर भने प्रधानमन्त्रीको बोलीमा प्रष्ट झल्कियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा फेरि भने,‘काँग्रेस सभापति शेरबहादुर देउवासँग मेरो गहिरो लभ परेको छ ।’तराई पुग्दा मधेशसँग, चितवन र काठमाडौंमा बरालिँदा देउवासँग, बीचबीचमा एमाले अध्यक्ष ओलीसँग पनि प्रचण्डको चक्कर चलिरहन्छ । यसैपनि तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले एमालेसँग विहे गरि काँग्रेससँग हनिमुन मनाएको चर्चा व्यापक छ ।

अहिले काँग्रेस नेतृत्वको गठबन्धनमा टेकेर प्रधानमन्त्रीको कुर्सीमा बसेका उनले दल रिझाउन र नेता फकाउन पनि लभ परेको भनिरहनु परेको छ ।किनकि सरकार टिकाएर कुर्सीमै रहनु प्रचण्डको प्रथम उद्देश्य हो । यसका लागि सरकारका कामकारबाहीमाथि चुकुल लगाएर उनी देशदौडाहमा छन् । अहिले तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । तीनै क्षेत्रमा गठबन्धनका उम्मेदवार छन् । तर प्रधानमन्त्रीको दल नेकपा माओवादी केन्द्रले कुनैमा हिस्सा पाएको छैन ।

तथापी सरकार टिकाउनकै लागि भएपनि अन्य दलको मञ्चमा पुगेर भाषण गर्न प्रचण्ड हेलिकोप्टरको फन्को मारिरहेका छन् ।र उनले हरेक मञ्चमा जनतालाई प्रलोभनमा पार्न उम्मेदवारलाई मन्त्रीको आश्वासन दिएर फर्किएका छन्। प्रधानमन्त्रीको चासो देश निर्माणमा हुन्थ्यो भने, उनी गठबन्धन टिकाउन र नेता रिझाउन खर्चिरहेको समय कम गर्थे । अहिले बालुवाटारमा फोकटका भेटघाट र फोटोसेशनमा प्रधानमन्त्रीका दिन वितिरहेका छन् । काँग्रेस महामन्त्री गगन थापाले संसदमा भनेझैँ, प्रधानमन्त्रीको फुर्सद देखेर जनता छक्क परेका छन् ।यसैपनि अधुरो क्याविनेटमा चार मन्त्रालय खाली नै छन् ।

सरकारका मन्त्रीहरु सुस्त गतिमा छन् । भौतिक पूर्वाधारमा हुँदा एक्सनमा उत्रिएर आश देखाएका नारायणकाजी श्रेष्ठ पनि गृहमन्त्री बनेपछि गुमनाम छन् । अन्य मन्त्रीको काम गर्ने इच्छा र प्रतिफलप्रतिको लगाव देखिएकै छैन । गृहमा आउने वित्तिकै श्रेष्ठले पूर्वगृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्रमा आवद्ध नागरिकको वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिएको भन्दै कार्यविधि नै खारेज गर्ने काम गरेका छन् । जसमाथि प्रधानमन्त्री प्रचण्डले तनहुँमा पुगेर ‘ठूला–ठूला गफ गर्नेहरुको असलियत बाहिर आउँदै गरेको’ भन्दैखुशी व्यक्त गरे ।

तर यो कार्यविधिको मस्यौदा रवि आउनुभन्दा पहिले बालकष्ृण खाण गृहमन्त्री बन्दा नै तयार भएको थियो । जसलाई द्रुतगतिमा लागु गर्ने काम भने रविले गरेका हुन् ।अहिले कार्यविधि बनाएर दिएको ठेक्का नै खारेज भएपछि सरकारमाथि नै प्रश्न गर्दै कि सरकारले रविको गल्ती सच्याउनकै लागि खारेज ग¥यो । कि, कमिशन खाएर फेरि ठेक्का लगाउन खारेज ग¥र्याे, भन्ने दुईथरी प्रश्न उठेका छन् । तर प्रधानमन्त्रीे यही विषयलाई चुनाव एजेन्डा बनाएर आमसभामा पोखिएका छन् । हुनत् प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रोकाललाई निकै स्वर्णिम बनाउने कसम खाएका छन् । काम गर्ने हुटहुटी पनि देखाएका छन् ।

तर गठबन्धनवादी राजनीतिको पेलान र तौरतरिका नमिल्दा यो कार्यकाल पनि हात लग्यो शून्य तर्फ दौडिरहेको छ । प्रधानमन्त्री प्रचण्डलाई दिन दुई गुणा रात चौगुणा सरकार गुमाउने डर पैदा हुँदैछ । उप–निर्वाचनपछि बन्ने सम्भावित समीकरण फेरबदलको भयले प्रचण्ड प्रताडित छन् । झन काँग्रेस सभापति देउवाले सरकारमा चाँडै फर्किने संकेत गरेपछि प्रधानमन्त्रीलाई संकटकै विषय बनेको छ ।यसैकारण दलहरुसँग मायाप्रेमका कुरा गर्नु प्रधानमन्त्रीको टिक्ने नीति पनि हो । किनकि प्रधानमन्त्री प्रचण्डको जीवनमा अहिले धोकापछि लभको सिजन चलिरहेको छ ।